२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • कपिलबस्तुको सगरहवामा फागुन २३ गतेदेखि मूर्तिकला कार्यशाला हुने

    कपिलबस्तुको सगरहवामा आगामि फागुन २३ गते देखि राष्ट्रिय मुर्तिकला कार्यशाला हुने भएको छ । बुद्धजन्मस्थल लुम्बिनी विश्व सम्पदामा सूचीकृत भएको २५ औं बर्षको उपलक्ष्य पारेर कार्याशाला आयोजना गर्न लागिएको हो । बुद्धस्थल सगरहवा प्राचिन कपिलबस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको स्थल हो । सोमबार लुम्बिनी विकास कोषले कपिलबस्तुका सांसद, पालिकाका जनप्रतिनिधि, दलका नेता एवं सरोकारवालाहरुको उपस्थितीमा गरेको अन्तरक्रिया कार्यक्रममा सगरहवाको प्रचार प्रचार र प्रवद्र्धन गर्न मुर्तिकला कार्यशाला गर्ने निर्णय गरिएको हो ।
    कार्यक्रममा राष्ट्रियसभा सदस्य विमला घिमिरेले प्राचिन राजधानी र गौतमबुद्धले २९ बर्ष विताएको तिरौटाकोट दरवार सहित ७ वटा बुद्धका महत्वपूर्ण क्षेत्र भएर पनि ओझेलमा परेको बताइन् । उनले कपिलबस्तुको सगरहवा पुरातात्विक र ऐतिहासिक थलो भएकाले मूर्तीकार्यशालाले थप उर्जा थप्ने उल्लेख गरिन् ।
    कपिलबस्तु क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य बलराम अधिकारीले गौतमबुद्धको घर र परिवार नै कपिलबस्तु राज्यमा विताएको यो क्षेत्रको विकासमा कन्जुस्याई भइरहेको बताए । उनले विकास कोषले सगरहवाको पुरातात्विक र ऐतिहासिकता प्रदर्शन गर्ने गरि कार्यशाला गर्न लाग्नु सकरात्मक भएको भन्दै यसले कपिलबस्तुको बुद्धकालिन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
    प्रदेशसभा सदस्य विष्णु पन्थीले लुम्बिनीमा आउने लाखौं पर्यटकलाई मध्यनजर गरेर सगरहवामा बुद्धका विचार र सन्देश दिने गरि मूर्ती बनाउन आवश्यक रहेको उल्लेख गरे ।
    शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलबस्तु राज्यका शाक्यहरुको बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ । संरक्षण विहिन अवस्थामा रहेको र नजिकै मानवनिर्मित जगदिशपुर तालसँग जोड्दै पर्यटक आर्कषित गर्न स्थानीयहरुको समेत अपन्तव हुने गरि कार्यशाला गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए । लुम्बिनी विकास कोष मूख्य आयोजक र कपिलबस्तु नगरपालिका आयोजक रहने गरि प्रारम्भिक तयारीका लागि कमिटिहरु गठन गरिएको छ । आगामि फागुन २३ गते फागु पूर्णिमादेखि चैत पूर्णिमासम्म एक महिनाको अवधी राखेर सगरहवाको ऐतिहासिक तथा बौद्धकालिन पुरातात्व झल्कने गरि मूर्ती निर्माण गरिने कोषाध्यक्ष भट्टराईले बताए ।

    अन्तरक्रियामा कपिलबस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कपिलबस्तु आफैमा बौद्धकालिन सभ्यताले भरिपूर्ण रहेकाले मूर्तीकार्यशाला सम्पन्न गर्न आफुहरु सहयोग गर्न तयार रहेको बताए ।
    कपिलबस्तुका स्थानीय एंव बौद्ध बिषयका विज्ञ पोमनारायण पौडेलले सगरहवा शाक्य बंशको सामूहिक बध गरिएको र सम्झनामा सयौं स्तुपा निर्माण गरिएको चिनियाँ यात्रीहरुले यात्रा वर्णनमा उल्लेख गर्दै बताउँदै यो क्षेत्र बुद्धकालिन सभ्यताको प्रमाणका रुपमा रहेको उल्लेख गरे । सगरहवामा ३ हजार बर्षअघिका पुरातात्विक बस्तुहरुको संरक्षण गर्ने गरि विकास कोष र पुरातात्व विभागले काम गर्नुपर्ने उनको भनाइ छ । सगरहवामा सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्धारा गरिएको उत्खनन अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा ससना स्तुपा र १७ वटा ठूला स्तुपा एंव मुख्य स्तुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथ ारुवी लगायतका सामाग्री भेटिएको थियो ।