२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • गुल्मीको रेसुंगा विमानस्थलमा नियमित उडान हुने

    तम्घास – गुल्मीको रेसुंगा विमानस्थलमा नियमित उडान हुने भएको छ । गुल्मीको रेसुङ्गा विमानस्थलबाट नेपाल एयरलाइन्सबीच विमान उडान सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार प्रतिउडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने छ ।
    सोही अनुसार आगामी बुधबार निगमले व्यावसायिक ‘प्रुभिङ’ उडान गर्ने छ । हरेक सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको छ । (निगमका अनुसार गुल्मी जाँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कंदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थातः १६ सिटमा यात्रु बोक्न सक्छ ।
    प्रतिउडान अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुंगा नगरपालिकाले गरेको हो ।

    काठमाडौंबाट करिब १ घण्टाको दुरीमा रेसुंगा विमानस्थल पुग्न सकिन्छ । नियमित उडान जारी रहेमा गुल्मीका यात्रुको अभाव नहुने अपेक्षा गरिएको छ । त्यसपछि निजी क्षेत्रका वायुसेवा कम्पनीसमेत आकर्षित हुन सक्ने अपेक्षा छ ।
    रेसुंगा नगरपालिका र निगमको सम्झौतामा साक्षी बसेका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यहाँ निजी कम्पनीको तुलनामा निगमले झण्डै २ हजार रुपैयाँ कम भाडामा यात्रु बोक्ने भएको छ । टिकट दर तोक्ने जिम्मा भने निगमलाई नै दिइएको छ । गुल्मीको सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा रेसुंगा विमानस्थल रहेको छ ।