२०८१ आश्विन २१ गते, सोमबार ०७:०३
  • १८१ चिनिया पर्यटक विमान चार्टर गरि नेपाल भ्रमणमा, पर्यटनमन्त्री द्वारा स्वागत

    काठमाडौँ-एक सय ८० चिनियाँ पर्यटक विमान चार्टर गरि नेपाल भ्रमणमा आएका छन् । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी विहिवार विहान उनीहरु काठमाडौँ आइपुगेका हुन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आएका चिनिया टोलिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत सिईओ डा धनञ्जय रेग्मीलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

    पर्यटन मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताए । उनले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुत बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।‘चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एसियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भन्नुभएको थियो, हामी चीनमार्फत थप पर्यटन प्रवर्द्धन गर्न चाहन्छौँ,’ मन्त्री किराँतीले भने ।

    मन्त्री किराँतीले नेपालका कतिपय सहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरे ।विस २०८० को दशकलाई समृद्धि र पर्यटनको दशकका रूपमा नेपालले मनाउन चाहेको उनको भनाइ छ ।

    नेपालका लागि चिनियाँ राजदूत छेन् सङले कोरोना नियन्त्रणमा आएसँगै विदेश जाने पर्यटकलाई चीनले खुला गरेको बताए ।उनले चिनियाँ पर्यटक नेपालमा भित्रिएसँगै नेपालको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए । नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने उनको भनाइ थियो ।

    नेपाल विग माउन्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्य सूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुसी व्यक्त गरे ।

    उनले आगामी महिना झन्डै आठ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको जानकारी दिए । एक साताका लागि नेपाल आएको चिनिया टोलीले काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नुका साथै पुनहिलसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी नेपालले जानकारी दिए ।