२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • सगरमाथा आरोहणका लागि अनुमति लिने हालसम्मकै बढी

    काठमाडौँ वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् ।

    सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए ।

    नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

    सन् २००७ देखि पर्यटन विभागको सम्पर्क अधिकृत भएर काम गरेका ज्ञानेन्द्र श्रेष्ठले आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको बताए ।

    पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सबैभन्दा बढी चीनबाट ९६, अमेरिकाबाट ८९, भारतबाट ४०, हङ्गेरीबाट ३३, क्यानडाका २१, रुसका १८, बेलायतका १५ र नेपालका १५ आरोहीले अनुमति लिएका छन् ।