२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:४१
  • बृहत्तर लुम्बिनी गुरुयोजनाको लागि सरकार तत्पर : प्रधानमन्त्री

    लुम्बिनी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वृहत्तर लुम्बिनी गुरुयोजनाको लागि बर्तमान सरकार तत्पर रहेको बताएका छन् । उनले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि सरकार लागी परेको उल्लेख गरे ।

    २५६७ औं बुद्धजयन्ती समारोहमा सम्बोधन गर्दै प्रचण्डले लुम्विनीको द्रुत विकासका लागि सरकारले राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको बताए। ‘अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्नेछ ।’ उनले भने ‘सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र घोषणा गरिसकिएको छ ।’


    प्रचण्डले आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझै बढ्दै गएको भन्दै पूर्वीय सभ्याताको आलोकको रुपमा आधिुनिक विकासका उपलब्धीले मानविय विवेक र चिन्तनधारा ध्वस्त भएको उल्लेख गरे ।

    उनले पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैशवशाली र गौरवशाली दुबै रहेको बताए । प्रचण्डले हाम्रो आफ्नो मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर हाम्रो दर्शन, सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न पनि नसकिने उल्लेख गरे ।