२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • लुम्बिनीमा विहिवारबाट बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट हुँदै

    बुटवल -लुम्बिनीमा बैशाख २८ गतेदेखि अन्तराष्ट्रिय ट्राभल मार्टको आयोजना हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को सहकार्यमा मार्टको आयोजना हुन लागेको हो।पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट मूल आयोजक समिति गठन गरिएको छ। कार्यक्रमको कार्यान्वयन गर्ने जिम्मा नाट्टाले लिएको छ भने पर्यटन बोर्डले संयोजन गरेको छ।

    कोभिड– १९ पश्चात् नेपालको पर्यटन गतिविधि सामान्य रूपमा पुन सुचारु भइरहेको परिप्रेक्षमा पर्यटकीय आगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्न ट्राभल मार्टको आयोजना गरिएको नाट्टाले जनाएको छ। बुद्ध भूमि लुम्बिनीलाई केन्द्रमा राखी विश्वभर नेपालको सम्पदा आध्यात्मिक लगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक्प्लोर द बुद्धल्याण्ड, गेटवे टु बुद्धिष्ट सर्किट भन्ने नाराका साथ कार्यक्रम हुने नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

    मार्टमा भारत, मलेसिया, चाइना, कोरिया, बङ्गलादेश, म्यानमार, थाइलैण्ड, श्रीलङ्का लगायत देशहरूबाट ३५ भन्दा बढी ट्राभल÷ टूर कम्पनीहरू सहभागी हुने र नेपालबाट पनि सोही सङ्ख्यामा ट्राभल ÷ टूर कम्पनीहरू विक्रेताका रूपमा सहभागी गराई बीटुबी कार्यक्रम समेत सञ्चालन गर्ने गरी तयारी गरिएको जनाएको छ ।

    कार्यक्रमको उद्घाटन मायादेवी मन्दिर प्राङ्गणमा विहिवार बिहान ९ः०० बजे लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले गर्ने छन् । उद्घाटन सत्र पश्चात् लुम्बिनीको होटल पवन प्यालेसमा बीटुबी कार्यक्रम आयोजना हुने र सोही होटलमा स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुति सहितको सेमिनारको आयोजना हुने बताइएको छ । सेमिनारले नेपालको लुम्बिनी लगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसार मार्फत नेपाललाई पर्यटकीय हब बनाउने सन्दर्भमा गहन छलफल र निचोड निकाल्ने गरी तयारी गरेको छ ।