२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • लुम्बिनी केबलकार सञ्चालनपूर्व बसन्तपुरको कामाख्या मन्दिरमा एकहप्ते पुजा शुरु

    बुटवल- लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ। केबलकार सञ्चालन हुनु पुर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु भएको हो।

    आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुंदैछ। भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए।

    पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिंदैछन्। कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरु निर्माणले बसन्तपुर एउटा धार्मिक गन्तब्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए।

    केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकासंग त्रिपक्षीय सम्झौता गरी लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्क वापत छुट्टाउने छ। उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशत पाउने छन्।बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउंपालिका–३ बसन्तपुरसम्म २ किलोमिटर ६ सय मिटर दुरीको लुम्बिनी केबलकार निर्माण भएको हो।

    लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयां धार्मिक र पर्यटकीय गन्तब्य थपिएको प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको उनको भनाइ छ।