२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • देवदहको खयरडाँडामा लुम्बिनी विकास कोषद्वारा उत्खनन सुरु

    देवदह– गौतमबुद्धको मावली क्षेत्र देवदहको खयरडाँडामा लुम्बिनी विकास कोषले उत्खनन सुरु गरेको छ । कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको यो ठाउँमा बुधबार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले संयुक्त रुपमा उत्खननको शुभारम्भ गरे ।देवदह नगरपालिका ९ स्थित घोडाहामा रहेको खयरडाँडामा दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयहरुले आवाज उठाउँदै आएका थिए ।

    देवदहका स्थानीय समेत रहेका कोषाध्यक्ष भट्टराईले कोषले बौद्धपुरातात्विक क्षेत्रहरुको उत्खनन र संरक्षणमा पुरातात्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको उल्लेख गरे । उनले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरुको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन थालेको बताए ।

    देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरुको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने भट्राईको भनाइ छ।

    देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले खयरडाँडाँ क्षेत्र नै कोलिय गणराज्यको राजधानीको दरवार क्षेत्र रहेको दावी गरे । उनले उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टी रोहीणी नदी रहेकाले यहि क्षेत्र नै देवदह भएको आफुहरुको विश्वास रहेको बताए ।
    नगरप्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्विक बस्तु र स्मारकहरुलाई नगरपालिकाले संग्रालय बनाएर राख्ने प्रतिबद्धता जनाए ।

    लुम्बिनी विकास कोषका पुरातात्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खननमा खटिएको छ । लामो समयदेखि स्थानीयहरुको माग रहेपनि विविध कारण हुन नसकेको उत्खनन यो पटक शुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताए । स्थानीयहरुको दावी अनुसार खयरडाँडाँ बुद्धको मावली कोलिय गणराज्यको राजधानी देवदहको दरवार क्षेत्र हो । पुरातात्विक रुपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरु जुटाउने अपेक्षा गरिएको छ ।

    बुधबारदेखि शुरु भएको उत्खनन आगामि असार १५ गते एक महिनासम्म चल्नेछ । उत्खननमा पुरातात्व महाशाखाका प्रमुख उप्रेती सहित नवराज अधिकारी, शुभेच्छा पोखरेल, निशा पन्थी, अम्बिका सुब्बा सहितको टोली खटिएको छ ।