२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ हिड रेसुंगा’ अभियान

    तम्घास– गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसार एवम् पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ हिड रेसुंगा’ अभियान सुरु गरिएको छ। रेसुंगा नगरपालिकाले यहाँको धार्मिक पर्यटनलाई सहयोग पु¥याउन अभियान थालेको हो। अभियानको शुभारम्भ गर्दै रेसुंगाका नगरप्रमुख खिलध्वज पन्थीले अभियानले गुल्मीको पर्यटकिय विकासका लागि महत्वपूर्ण इटा थपिएको बताए।

    पर्यटनबाट समुन्नतिको आधार तय गर्न सकिने भन्दै उनले प्रचुर संम्भावना हुँदा–हुँदै पनि पछि परेको रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महत्वपूर्ण सहयोग मिल्ने उल्लेख गरे। ‘जिल्लामा रहेका ऐतिहासिक स्थलहरुको प्रचारप्रसार गरि आर्थिक अभियानमा महत्वपूर्ण योगदान पुर्याउनुपर्छ । बसाइसराईलाई रोक्ने हाम्रो ध्यय पनि हो ।’ पन्थीले भने।

    अभियानका माध्यमबाट ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार भई पर्यटकहरुको आगमनले रोजगारीको सिर्जना हुने उनले बताए।यहाँ रहेका तम्घासस्थान मन्दिर, गर्जुरा पार्क, रेसुंगा महापोखरी, यज्ञशाला, सिद्धबाबा, सानो रेसुंगा, इस्मा दरबार, कंके देउराली, भुवाने पार्क, विचित्र गुफा, गौशाला, रिडिधाम, मुसिकोट दरबार, गुल्मी दरबार, सरायँ नाँच लगायतका क्षेत्रहरुको प्रवद्र्धन गरिने पन्थीको भनाइ छ ।

    रेसुंगा नगरपालिकाले आगामी आर्थिक वर्षमा एक लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षमा लगानी सम्मेलन तथा पर्यटकीय गतिविधि सञ्चालन गर्ने उद्देश्यले भ्रमण वर्षको रुपमा मनाउने समेत नगर प्रमुख पन्थीले जानकारी दिए।

    पर्यटन व्यवसायी सुर्दशन खनालले सरकारको साथ नभए व्यवसायीले लगानी नगर्ने बताए। नीजि क्षेत्रसँग समन्वय गरि अगाडि बढ्ने आग्रह गर्दै खनालले जिल्लामा रहेका पर्यटनको संम्भावना र सर्किटको विषयमा जानकारी गराए।

    रेसुंगा सरंक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले हालै मात्रै रेसुंगा र अयोध्याबीचको सम्बन्धलाई पुर्नताजगी गर्न धार्मिक महायज्ञ सम्पन्न गरिएको बताए। नगरपालिकाले सञ्चालन गरेको यो अभियानले थप रेसुंगामा धार्मिक पर्यटनको विस्तार र विकासका लागि सहयोग पुग्ने उल्लेख गरे।

    रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवर, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले नगरपालिकाले सञ्चालन गरेको अभियानबाट रेसुंगामा पर्यटनहरुको उपस्थिति बढ्दै जाने बताए । सोही अवसरमा अभियानको लोगो अंकित टि–सर्ट सार्वजनिक गरिएको थियो।