२०८३ जेष्ठ २६ गते, मंगलवार ०२:३५
  • पर्यटकलाई आकर्षित गर्न दाङको छिल्लीकोटमा जिपलाइन सञ्चालनको तयारी

    तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ मा पर्ने छिल्लीकोट पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरुलाई लक्षित गरेर निजी क्षेत्रबाट जीपलाइन निर्माणको काम भइ रहेको छ। दुई वर्ष अघि छिल्लीकोट रिसोर्ट एन्ड एडभेन्चर प्रालि दर्ता गरि जिपलाईन निर्माणको काम अघि बढाइएको हो ।

    निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रालिका प्रबन्ध निर्देशक शिव श्रेष्ठले जानकारी दिए। जिपलाईनको औपचारिक उद्घाटन आगामी दशैँको घटस्थापनाका दिन गर्ने तयारी छ । तर त्यो भन्दा अगाडि नै अनौपचारिक रुपमा श्रेष्ठले जानकारी दिए।

    शिव सहित उनकी बुहारी आरती श्रेष्ठ, तुलसीपुरका श्रीधर न्यौपाने र माधव कार्कीको संयुक्त लगानीमा २ वर्ष अघि नै छिल्लीकोटमा जिपलाइन निर्माणको काम सुरु भएको थियो। कोरोना माहामारी र केही प्राविधिक समस्याले निर्माण कार्यमा ढिलाई भएको उनीहरुको भनाइ छ।

    अहिले निर्माणको ९० प्रतिशत काम सकिएको र अब १० प्रतिसत मात्र काम बाँकी रहेको सञ्चालक श्रीधर न्यौपानेले जानकारी दिए। अब टिकट काउन्टर , ड्रेस चेन्जिङ कक्ष, चमेना गृह, ट्वाइलेट–बाथरुम निमार्णको काम हुने उनले बताए।

    जीपलाइन संचालन पछि सो ठाउँमा रिसोर्ट निर्माण हुने प्रबन्ध निर्देशक श्रेष्ठले बताए । ‘जीप लाइनको काम सकिने बित्तिकै हामी रिसोर्ट निर्माण तर्फ लाग्ने छौं,’ उनले भने ‘ यहाँ आउने पर्यटकहरुले सहासिक खेल्दै मनोरञ्जन लिनुका साथै यही रिसोर्टमा बसेर रुची अनुसार स्थानीय परिकार पनि खान पाउन भन्ने हाम्रो चाहाना छ ।’

    तीन तारे स्तरको रिसोर्ट ,साइकिलिङ्, मिनी बन्जीजम्प बनाउने गरि स्वीकृती लिइसकेको अर्का संचालक न्यौंपानेले जानकारी दिए । सरकारले छिल्लीकोटको मालिका कालिका देबी मन्दिरसम्म पुग्नका लागि सडक बाटो, बिजुली बत्ती, पानीको व्यवस्था गर्न अति आवश्यक रहेको सञ्चालकहरुको भनाइ छ।

    छिल्लीकोट राज्य एकीकरणसंगै नेपालमा गाभिएको थियो। जहाँ अहिले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरिएको छ । त्यहाँबाट सिस्ने हिमाल, धवलागिरि हिमाल, दाङ उपत्यकाको समथर फाँट देख्न पाइन्छ।

    जीप लाइन निर्माणको लागि भारतबाट प्राबिधिक टोलीहरु आएका छन्।छिल्लीकोटस्थित भुल्के सामुदायिक वनमा जिप लाइनको काम भइरहेको हो। सामुदायीक वनलाई टिकट शुल्कको पाँच प्रतिशत छुट्याउने गरि पहिलो चरणमा १० वर्षको सम्झौता भएको सञ्चालक न्यौपानेले बताए । यो तयार भएमा दाङ जिल्लाको पहिलो र लुम्बिनी प्रदेशको सबैभन्दा लामो जीप लाइन हुने छ।