२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • पर्यटकको बसाइ लम्बाउन आवश्यक नीति अवलम्बन गरिने छ : प्रधानमन्त्री


    बुटवल – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकको बसाइ लम्बाउन आवश्यक नीति अवलम्बन गर्ने बताएका छन्। उनले पर्यटकिय क्षेत्रको बहु आयामिक विकास लागि सरकार अग्रसर रहेको उल्लेख गरे।

    बुटवलबाट पाल्पाको बसन्तपुर जोड्ने लुम्बिनी केबलकारको आज उद्घाटन गर्दै प्रचण्डले नयाँ बनेका अन्तराष्ट्रिय विमानस्थल सञ्चालन देखी पर्यटकको बसाइ लम्बाउने खाका नीति अवलम्बन गरिने बताए। ‘पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिनेछ।’ उनले भने ।

    प्रचण्डले रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको पर्यटकीय पूर्वाधारले यहाँको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने कामना व्यक्त गरे।आइएमई ग्रुपको अगुवाइमा केबलकार जस्ता विशाल पर्यटकीय पूर्वाधारहरू निर्माण हुँदा मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको सकारात्मक सन्देश गएको आफूले महसुस गरेको उनले भनाइ राखे।

    गौतमबुद्धको जन्मस्थल लुम्बिनीजस्तो महत्वपूर्ण स्थानमा केवलकार तथा पाँचतारे होटलसहित अन्य पर्यटकीय संरचनाहरू निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने आफूले अपेक्षा राखेको प्रचण्डको भनाइ छ ।

    नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाइ पनि लम्ब्याउन सकिने उनले बताए। प्रचण्डले मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित पर्ने धारणा व्यक्त गरे।