लुम्बिनीलाई बौद्ध शिक्षा अभ्यासको केन्द्र बनाउनुपर्छ
लुम्बिनी– कोरोना संक्रमणको कारण झण्डै साढे २ वर्ष बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन क्षेत्र पनि संकटमा पर्यो। पछिल्लो समय पर्यटन क्षेत्रमा आशाका संकेत देखा परेको छ। तर पर्यटकीय वातावरणको लागि धेरै काम गर्न बाँकी छ। बुद्धदर्शन, लुम्बिनीमा पर्यटन आगमन, गुरुयोजना, बृहत लुम्बिनी क्षेत्र, आगामी सम्भावनाका बारेमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) सँग हामीले कुराकानी गरेका छौं।
झण्डै ३ वर्ष लुम्बिनीको पर्यटक क्षेत्रलाई कोभिडले नराम्ररी असर पार्यो। २०२३ सुरु भए यता विदेशी पर्यटक आगमन पनि राम्रो देखिएको छ। यसले के संकेत गरको छ ?
प्यासिफिक एशिया ट्राभल पाटाको सेमिनार चल्दैछ । काठमाडौँमा भएको सेमिनारमा पनि यही विषय उठेको थियो। अहिले लुम्बिनीमा मात्र नभएर लुम्बिनी हिमालयन कम्बाइन गरेर पर्यटक बढेका छन्। यसलाई पेन्टप डिमाण्ड भनिदो रहिछ । तिन चार वर्षदेखी ट्राभल गर्न नपाएकाहरु ह्वात्तै बढे।
अहिले पर्यटक आगमनकोे ग्राफ माथि नै देखिन्छ। यसलाई निरन्तरता दिन अलिकति दिर्घकालिन रणनीति हुनुपर्छ। पहिलो चाँही बुद्ध सर्किटमा भारत र नेपाल जोइन्टी जानुपर्छ भनेर हामीले लबिङ गरिरहेका छौं।विगतका तथ्यांक हेर्दा लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्या बार्षिक २ साढे २ लाख भन्दा माथि जाँदैन। भारतको बोधगयामा १२ बर्सेनी लाख सम्म हुन्छ ।
यसलाई सस्टीनेबल बनाउन लुम्बिनी एक्लै सेल गरेर हुँदैन। यसको लिंकअप बुद्धिष्ट सर्किटसँग हुनुपर्छ। लुम्बिनी, बोधगया, बोधगया सारनाथ, सराबस्ती हुँदै कपिलबस्तु लुम्बिनी फेरि जोड्नेगरि दिर्घकालिन रुपमा सोंच्नुपर्छ।
अहिले तिन किसिमले पर्यटकहरु बढेको देख्छु। नयाँ खालको ट्राभलमा एउटा अलिकती अध्यात्म खोज्ने मेडिटेसनमा हिड्नेहरु छन्। त्यसमा बढि युवा पुस्ता छन्। अर्को युट्युव ट्राभल भ्लगरहरु बढ्दै छ। उहाँहरुको पेशा नै ठाउँहरु घुम्दै त्यसको बारेमा सामाग्री बनाएर प्रवद्र्धन गर्दै त्यसैबाट आम्दानी लिने नयाँ ट्रेन्ड बढेको छ। नयाँ ट्रेन्डले भारतबाट युवा पुस्ताहरु लुम्बिनीहुँदै स्वर्गद्वारी लगायतका ठाउँमा पुग्ने रुचि बढाउँछ।
२०१९ मा कोभिड सुरु भयो । पर्यटन क्षेत्र कोभिड भन्दा अगाडिको अवस्थामा अझै आइसकेको छैन। कहिलेसम्म आउला ?
मुख्य गरेर हाम्रो बुद्धिष्ट टुरिष्ट सिजन अक्टोबरबाट फेबुररीसम्म हो। हाम्रो आश अक्टोबरबाट तिब्र रुपमा बढ्ला भन्ने हो । एउटा चुनौति संसारका केही ठूला राष्ट्रमा आर्थिक संकटको आशंका बढि छ। आर्थिक संकटले विकराल रुप लिइदिएन भने पर्यटक आगमन राम्रो हुन्छ। अमेरिकामा पनि आत्तीएका थिए। ठीक छ अहिले। १६ हजार १७ हजार पर्यटक त हाम्रो अमेरिकाबाट आउँथे । आर्थिक संकट भएन र यहि तरिकाले गयो भयो भने विन्टर सिजनमा धेरै रिकभर होला भन्ने लाग्छ।
अर्को कुरा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको रिजनल कनेक्टीभिटी बढाउन तिर लाग्नुपर्छ। हामीले डाइरेक्ट डेष्टीनेसन मात्र खोजेका छौं। जस्तो मलेशिया लुम्बिनी, चाइना लुम्बिनी जोड्न। संसार भरको अभ्यासमा डाइरेक्ट मात्र त्यती सफल छैन। एयरलाइन्सहरुलाई चलाउन गाह्रो हुन्छ। क्षेत्रिय हबहरुमा नेटवर्क मिलाइदियो भने विभिन्न देशबाट मान्छेहरु आउँछन्। बरु धेरै गर्न भन्दा गौतमबुद्ध विमानस्थललाई दिल्लीसँग जोडौं। त्यो भएपछि युरोपियनहरु दिल्ली हुँदै लुम्बिनी आउन सक्छन्।अस्ती मन्त्रालयमा बर्माबाट म्यानमार नेश्नल एयरलाइन्सले उडानको लागि प्रस्ताव गरेको छ । पहल पनि हुँदैछ । इन्टरनेश्नल चल्न गाह्रो हुन्छ भने रिजनल एयरलाइन्सहरु जोड्नुपर्छ ।
भैरहवाको अन्तराष्ट्रिय विमानस्थललाई दिल्ली र बनारास विमानस्थलसँग बढि एक्सेस गर्यो भने चल्ने देखिन्छ । कसरी प्रमाणीत गर्न सकिन्छ भने परासीदेखि कृष्णनगर नाकासम्म जति उद्योगहरु छन्। त्यसका साहु, इन्जिनियरहरु कर्मचारीहरु उद्योगका सामान लिन कि कलकत्ता कि दिल्ली जान्छन् । व्यापारी र हाम्रा विद्यार्थी जान्छन् । औषधि उपचारको लागि जाने नेपालीहरु नै छन्।
बुद्धिष्ट पर्यटन क्षेत्रमा काम गर्ने होटलियरहरु, एजेन्टहरु आउँछन्। भैरहवाबाट दिल्ली डाइरेक्ट एक्सेस नभएकाले काठमाडौँ भएर जान महंगो हुन्छ। गोरखपुरदेखी दिल्ली नियमित फ्लाइट छ। त्यहाँबाट जान्छन्। मेरो अनुमानमा त्यसरी जाने ६० प्रतिसत भन्दा बढि भोलुम नेपालबाट गएको हो । त्यसकारण एउटा हबको रुपमा भैरहवा विमानस्थललाई दिल्लीसँग जोड्न सकिन्छ ।
भारतमा इन्डीगो, दिस्तारा जस्ता बजेट एयरलाइन्स छन् । उनीहरुको नेटवर्क छ जहाँ पनि छ । यता बुद्ध एयरको पनि क्षमता भइरहेको छ । त्यसैले रिजनल पार्टनरसिप गराएर इन्डियन बजेट एयरलाइन्सलाई ल्याउन सक्ने हो भने प्रतिस्प्रर्धा भएर पर्यटक आगमनलाई दर सस्तो हुन्थ्यो।
बुद्धिष्ट सर्किटमा भारतको ठूलो लगानी छ। यो त विश्वभरको आधा अर्ब मान्छे आउने डुल्ने ठूलो प्रोजेक्ट हुन्छ भन्ने छ । उहाँहरुलाई लुम्बिनी कपिलबस्तु रामग्राम नजोडी बुद्धसर्किट पुरा हुँदैन। त्यसले गर्दा यसरी दोहोरो सम्बाद राख्न सकियो भने राम्रो हुन्छ । नत्र अन्तराष्ट्रिय एक्लैले सस्टेनेफल फ्लो हुँदैन। चार्टड बाहेक अरुले गाह्रो देखिरहेको छ।
पछिल्लो समय चिनिया पर्यटकहरु आउन सुरु गरेका छन्। चिन ठूलो देश पनि हो । खर्च गर्न सक्ने पर्यटक छन् । उनीहरुको आगमन बढाउन के गर्न सकिन्छ ?
चिनको सम्भावना ठूलो छ । चिनिया राष्ट्रपतिज्यु पछिल्लो पटक नेपाल आउँदा उहाँले भाषणमा पनि लुम्बिनीको बारेमा कुरा गरेपछि चिनिया पर्यटकको संख्या ह्वात्तै बढेको देखिएको थियो। सिचुवान प्रदेश चाइनाको बुद्धिष्ट कल्चरल सेन्टर हो । त्यहाँ नयाँ अन्तराष्ट्रिय विमानस्थल पनि बन्दै छ । तत्कालिन माननिय मन्त्री रविन्द्र अधिकारी हुँदा हामीले लुम्बिनी र त्यहाँको एमओयु गरेका छौं। त्यहाँबाट पर्यटकहरु लुम्बिनी ल्याउने र एयरपोर्टहरुको पनि सम्बन्ध राख्ने भनेर गरेका हौ।
कोभिडले गर्दा ३ वर्ष चाइनिजहरुलाई मुलुक बाहिर जान अनुमती दिएको थिएन। अहिले जान मिल्ने देशको सूचीमा नेपाल पर्नु एकदम सकारात्मक सन्देश हो।एक दुइ वटा ठूलो ग्रुप बाहेक अरु आइसकेको छैनन्। चिनिया पर्यटक चाँही आउँछन्। त्यसको लागि आउँदा दिनमा गोन्जाउ, त्यहाँ पनि भएन भने सिचुवान इन्टरनेश्नल एयरपोर्टमा लिंक राख्नुपर्छ।
लुम्बिनी विकास कोषको गुरुयोजना कहाँ पुगेको छ ? कहिलेसम्म सम्पन्न हुन्छ ?
गुरुयोजना हामी सकाउनतिर लागेका छौं । लुम्बिनी गुरुयोजनाको बाँकी काम सम्पन्न गर्न सात आठ अर्ब चाहिन्थ्यो। नेपाल सरकारले आर्थिक श्रोत सुनिश्चितता प्रदान गरेकाले कामहरु धमाधम थालिएको छ। बाटोघाटो गेटहरु सबै डिजाइन भइरहेको छ। फोहर व्यवस्थापन, बाढि नियन्त्रण र केही प्रशासनिक भवनको काम अहिले विडिङमा छ। राम्रै गतिमा जान सक्यो भने २० महिना गुरुयोजनाको काम सम्पन्न होला। अहिले भइरहेका काम अन्तिम चरणका हुन्।
गौतमबुद्धले २९ वर्ष विताएको तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्ने प्रक्रिया के भइरहेको छ ?
विश्व सम्पदा सम्मेलनमा आबद्ध भएका देशहरुको साझा सञ्जाल छ । हरेक वर्षको जुन महिनामा यसको मिटिङ बस्छन्। आउँदो २०२४ को जुन तिर विश्व सम्पदा सम्मेलनको मिटीङ साउदी अरेबियाको रियादमा बस्छ। तिलौराकोटलाई विश्व सम्पदामा सुचिकृतको लागि त्यहाँ हामीले अहिलेबाट निवेदनहरु पठाइसकेका छौं। डोसियर लेख्न थालेको १ वर्ष भयो । त्यो भनेको चार पाँच वटा किताबहरु लेख्ने त्यसमा क्षेत्र कति, आधारहरु के छन् लगायतका कुराहरु हुन्छ ।
हामीले विज्ञहरु पनि खटाएका छौं । नेपालको पनि ५ जना विज्ञ छन्। । पछि पुरातत्वको पनि विज्ञ चाहिने भएकाले अस्ती भरखर सम्मेलन गराएर हामीले दुराम विश्वविद्यालयका एक जनालाई नियुक्त गरेका छौं । आउँदो विश्वसम्पदा सम्मेलन २०२४ मा चाँही सम्भव त तिलौराकोटलाई विश्वसम्पदा सुचिमा सुचिकृत गर्ने प्रस्ताव पारित हुन्छ ।
लुम्बिनी आएका पर्यटकहरु प्राय छोटो समय मात्र बस्ने गर्छन्। उनीहरुलाई लुम्बिनीमा मात्र सिमित नभइ अन्य बुद्धस्थलहरुको पनि भ्रमण गर्ने वातावरण बनाउन के पहल भइरहेको छ ? बुद्धस्थलहरुको नेटवर्क जोडिने गरि बृहत लुम्बिनी गुरुयोजनाको काम कसरी अगाड बढेको छ ?
हामीसँग यसको कुनै गुरुयोजना थिएन । लुम्बिनी मात्र गुरुयोजना थियो र यसै अनुसार काम भइरहेको थियो । अब चाँही लुम्बिनीसँग भगवानको २९ वर्ष वितेको कपिलबस्तु, सैनामैना, देवदह, रामग्राम जोडेर एयरपोर्ट हुँदै घुमाएर लुम्बिनी जोड्ने एउटा बुद्धिष्ट सर्किटको योजना बन्दै छ। लुम्बिनी आएका पर्यटकलाई कम्तीमा चार पाँच दिन भुलाउन सक्ने गरि विभिन्न साइटहरुको निर्माण गर्न सकिएन भने पर्यटन क्षेत्रले चाहीँदो स्वरुपमा आर्थिक योगदान चाँही दिँदैन।
ग्रेटर लुम्बिनीमा यी सबै सञ्जाल जोड्ने लामो अध्यन भएको छ । कपिलबस्तुदेखी रामग्रामसम्म अन्तराष्ट्रिय बुद्ध क्षेत्र हो भनेर हाम्रो बोर्डबाट पास भएर सरकारलाई बुझाएका छौं। पर्यटन मन्त्रालयबाटअहिले अर्थमन्त्रालयमा सिफारिस गरेर पठाइएको छ। प्रयासमा छौं सफल भयौं भने त्यसमा विश्व बैंकलाई आग्रह गर्दै छौं। त्यो जरुरी छ, ग्रेटर लुम्बिनी प्लान भनेर खाका हामीले कोरिसकेका छौं।
लुम्बिनी विकास कोषलाई केही आरोप पनि लाग्ने गरेको छ । बेला बेलामा गुरुयोजना विपरित काम भयो भनेर चर्चा पनि हुने गरेको छ । पछिल्लो पटक पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको पनि थियो । यस सम्बन्धमा यहाँको प्रतिक्रिया के छ ?
कोष संस्था हो धेरै कर्मचारी हुन्छन्। कसैलाई कहाँ रिस उठेको होला । निवेदन हाल्नु स्वभाविक हो । त्यसलाई नै मन्त्रालयले हामीलाई पठाएर प्रश्नहरु सोध्नु कुनै नयाँ होइन नियमित प्रक्रिया नै हो । गुरुयोजना एउटा आर्किटेक्टर प्लान हो । ठाउँ कसरी प्रयोग गरिन्छ । एक्सेस कहाँबाट हुन्छ विल्डीगको फिलोसोफी के हो । यसले चाँही त्यो डिफाइन गर्छ ।
कहिलेकाँही यो गुरुयोजनामा व्यांकेट तोकिएको हुन्छ । यो ठाउँमा व्युटीफिकेसन गर्ने, यो ठाउँमा गार्डेन बनाउने, यो ठाउँ पब्लीक पवेलियन हो भनेको हुन्छ। पब्लीक पवेलियन भएको ठाउँमा बेन्च राख्ने कि मुडा राख्ने कस्तो गर्ने भन्ने हामी छलफल गरेर संस्थाले अगाडि लैजाने विषय हुन्।
तारा फाउण्डेसनको अगाडि गोलो पोखरी छ गोलो पोखरीको अगाडि बुद्ध मुर्ति राखेर सुन्दर पार्क बनायो। त्यसैलाई लिएर विभिन्न मान्छेहरुले हल्ला गरिरहेका हुन्छन्। गुरुयोजनामा व्युटीफिकेसनको पार्टमा मुर्तिहरु राखेर बनाउने सिष्टम छ। त्यसको पनि त्यत्तीकै निर्णय हुँदैन, बोर्डसम्म गएर व्यापक छलफल भएर सबै सहभागी भएर निर्णय हुने हो ।
संसार भरका बुद्धिष्टहरु लुम्बिनी किन आउनुपर्छ । लुम्बिनीको सम्भावना के देख्नुभएको छ ?
यो संसारमै भगवान बुद्ध जस्तो उज्वल छवि भएको विज्ञानसम्मत अध्याध्मीक मार्गदर्शक हुनुहुन्न। उहाँले आजिवन कहिले पनि तिर्थव्रत यात्रा गर भन्नुहुन्थेन, अभ्यास गर, मन शुद्ध बनाउ भन्नुहुन्थ्यो। तर उहाँ वित्नु अघि आफ्ना सबै शिष्यहरुलाई मेरो मृत्यु पश्चात लुम्बिनी जानुपर्छ म जन्मेको बगैंचा भनेर आज्ञा गरेको नाताले विश्वभरको बौद्धमार्गीहरुलाई बुद्धिजमतिर आकर्षण हुनेलाई लुम्बिनी आउने त्यो एउटा निम्तो नै हो । त्यही भएर आउँछन नै । हाम्रो सबै भन्दा ठूलो आस्था त्यही हो।
भगवान आँफै भन्नुहुन्छ लुम्बिनी गएर श्रद्धा भएको कुनै मानिसले कुल पुत्रले त्यहाँ आएर चिन्तन गर्यो र मनन गर्यो भने अनित्य संसारबारे चेतना जगाएर ध्यान अभ्यासहरु गर्यो भने लाभ प्राप्त हुन्छ भन्नुभएको छ।एउटा लुम्बिनीलाई पर्यटकिय स्थल मानिन्छ । त्यहाँ विश्वविद्यालय छ, ध्यानकेन्द्रहरु छन् । लुम्बिनीलाई बौद्ध शिक्षाअभ्यासको केन्द्र बनाउनुपर्छ।
त्यहाँ एक महिने ध्यान सिविरहरु अझ ध्यान कोर्ष नै चलाउन सक्ने हामीले बनाउनुपर्छ। विश्वविद्यालय पनि हामी हेर्दैछौं । पहिले गुरुयोजनाको काम सकिएर मात्र सरकारले विश्वविद्यालय तिर हात हाल्न सक्छ। यो विश्वविद्यालय पनि विश्व बौद्ध सिखर सम्मेलनले लुम्बिनी पर्यटकिय ठाउँ मात्र नभएर विश्व बौद्ध अध्यन केन्द्र बनाउनुपर्छ भनेर प्रस्ताव गरेर आएको हो। नेपालमा चलिरहेकै अन्य विश्वविद्यालयका विधानहरु कपि भएर एउटा शिक्षा संगठन जस्तो भएर भयो । यसलाई अलि व्यापक गरेर लुम्बिनी गुरुयोजनासँगै मिसाएर जानुपर्छ । लुम्बिनी एउटा लिभिग बुद्धिष्ट क्याम्पस जस्तो होस्, ध्यान सिक्ने ठाउँ होस, महिनौ बसेर ध्यान गर्छु बौद्ध जिवन बाँच्छु भन्नेहरुको लागि त्यहाँ ठाउँ हुनुपर्छ।
बाहिरका व्यापारीहरु नबुझेर यहाँ हामीले यतिका होटल बनाएका छौं मान्छे विहारमा गइदियो भनेर धेरै गुनासो पनि आउँछ। त्यो भनेको प्रवृति परिवर्तन गर्न जरुरी छ। लुम्बिनी आउने मान्छेहरु पर्यटन मात्र नभएर एउटा मेडिटेसन शान्तिको कोर्षहरु लिउन, क्लास लिउन भन्ने पनि भन्ने पनि हो । सामान्य शिक्षा पढ्ने हामी जस्तो मान्छेले प्रतिष्ठाको लागि डिग्री खोज्छौं। तर अध्यात्म खोज्ने मान्छेले धर्म खोज्ने मान्छेले डिग्री खोज्दैन। अम्यास सिक्न पाउँ, योग सिक्न पाउँ ध्यान सिक्न पाउँ भन्ने खोज्छ। बैद्ध शिक्षालाई अलिकती परिवर्तन गर्न सकियो भने लुम्बिनी आएर बस्ने अवधि बढाउँछ । थरि थरिका पर्यटनका मिक्स ग्रुप पनि तान्छ। भविश्यमा यो पनि सोंच्नुपर्छ ।
पर्यटन आगमनको भविश्य राम्रो छ। हामी डराउन पर्ने अवस्था छैन। वर्ड बैंकको एउटा तथ्यांकले के भनेको छ भने संसारको सबै भन्दा ठूलो जनसंख्या भारत र चिन छन्। ग्लोबल टुरिजम इन्डेक्समा हेर्दा पनि भविष्यमा आउट बाउण्ड टुरीष्ट आफ्नो देश छोडेर बाहिर घुम्न इच्छुक एक नम्बरमा चाइना छ। चाइनाका अधिकांस मान्छे विदेश यात्रा जान खोज्छन् । दोस्रो भारत छ । उहाँहरुलाई सबैभन्दा नजिकको विदेश नेपाल नै हो। त्यसैले भविश्य राम्रो छ तर हामीले सानातिना कुरा समाधान गर्न सक्नुपर्छ।