२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • निगमलाई आफ्नो जहाज घाम तपाएर राख्न छुट छैनः मन्त्री किराँती

    ‘दिल्ली या अन्य गन्तव्यमा पनि उडान भर्न कोशिष गरेका छौं’


    भैरहवा-संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई राम्रो ढंगले संचालन गर्न प्रचार र बजारीकरणमा जोड दिनुपर्ने बताएका छन्। उनले आफ्नो प्रचारसँगै लुम्बिनी र देशको प्रचार पनि गर्न नेपाल बायुसेवा निगमलाई अनुरोध गरे।

    मलेशियाबाट उडान भरेर भैरहवाको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमको जहाजलाई मन्त्री किराँतीले मंगलबार विहान स्वागत गरेका थिए । स्वागत पछि आयोजित कार्यक्रममा किराँतीले आफ्नो जहाजलाई घाम तपाएर आराम गरेर बस्ने छुट निगमलाई नभएको प्रतिक्रिया दिए।

    ‘बायुसेवा निगमलाई आफ्नो जहाज घाम तपाएर आराम गरेर बस्ने छुट छैन ।’ उनले भने ‘निरन्तर आफ्नो प्रचार, लुम्बिनीको प्रचार, यो देशको प्रचार र बजारीकरणको निम्ती आजको दिन भन्दा अझ स्पीड बढाएर अगाडि बढ्न म अनुरोध या निर्देशन गर्न चाहान्छु ।’

    बुद्ध सर्किट राष्ट्रहरुका बजारलाई नै फोकस गरेर यो भैरहवाको अन्तराष्ट्रिय विमानस्थल बनेको भन्दै मन्त्री किराँतीले भैरहवाबाट अन्तराष्ट्रिय उडान सम्भव भएको दाबी गरे। उनले निगमको जहाजबाट भैरहवा दिल्ली पनि उडानको लागि पनि पहल भइरहेको सुनाए।

    ‘हामी यहाँबाट दिल्ली या अन्य गन्तव्यमा जान चाहान्छौं । त्यसको लागि कोशिष गरिरहेका छौं।’ उनले भने ‘छिटै यसलाई सफल पाछौैं भन्ने लाग्छ । यदि हुँदै भएन भने मलेशियाबाट आएको जहाज यहीबाट फर्किने गरि भए पनि हामीले प्रबन्ध गर्ने छौं।’
    अन्तराष्ट्रिय विमानथल साञ्चालनमा अहिले समस्या देखिएको भए पनि यो समाधान हुँदै जाने पर्यटन मन्त्री किराँतीले बताए।

    उनले यो अन्तराष्ट्रिय विमानस्थल भविष्यको लागि निकै उपयोगी हुने दाबी गरे । ‘थाइल्याण्ड, श्रीलंका र कम्बोडियाबाट जहाज मात्र आउँदैन यसले त ठूलो प्रचारसँगै पर्यटकहरु पनि भित्राउने छ । किराँतीले भने । ‘औद्योगिक र कृषि कार्गोको रुपमा यो एयरर्पोट महत्वपूर्ण छ। भविश्यमा कार्गो उडानको सम्भावना पनि हामीले खोजिरहेका छौं ।’

    काठमाडौँको अन्तराष्ट्रिय विमानस्थलमा बस्न नसकेका जहाज भैरहावामा डाइभर्ट समेत उनले सुनाए।भैरहवाको अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको १३ महिना पछि राष्ट्रिय ध्वाजाबाहक नेपाल बायुसेवा निगमको जहाजले उडान सुरू गरेको हो। ९७ जना यात्रु लिएर मलेसियाको राजधानी क्वालालम्पुरबाट जहाज आएको हो।