२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • विद्युतीय गाडी दर्ता अवरोधले पर्यटन क्षेत्रलाई चिन्तीत बनायो : नाट्टा लुम्बिनी


    बुटवल – नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा लुम्बिनीले विद्युतीय बस र ट्याक्सी सञ्चालनमा सरकारी पक्षबाट गरिएको अवरोधले चिन्तीत बनाएको बताएको छ। संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र लुम्बिनी सरकारको मुख्यमन्त्री कार्यालयले लुम्बिनीका विद्युतीय सवारी सञ्चालन गर्न निर्देशन दिएपनि यातायात व्यवस्था कार्यालयले दर्ता नगरेको प्रति ध्यानाकर्षण भएको नाट्टाको भनाइ छ।

    ‘हाल सेतो प्लेटका ति सवारीको नम्बर प्लेट पर्यटक सवारी प्लेट( हरियो प्लेट) बनाउन निर्देशन दिएको अवस्थामा एकाएक यातायात व्यवस्था कार्यालय रुपन्देहीले दर्ता नगरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ नाटा लुम्बिनीकी अध्यक्ष रचना पन्त र महासचिव अन्जन श्रेष्ठले निकालेको विज्ञप्तीमा भनिएको छ ।

    दक्षिण एशिया पर्यटन विकास पूर्वाधार आयोजना अन्तर्गत बृहत्तर पर्यटकिय क्षेत्रको भ्रमणमा आउने बाहय तिर्थयात्री तथा आन्तरिक पर्यटकको सहजताको लागि अनुदान स्वरुप प्राप्त ५ थान विद्युतिय बस र १४ थान विद्युतीय भ्यान लामो समय देखी लुम्बिनीको बसपार्क नजिक पार्किङमा छन्। ति बस र भ्यानलाई घाम तापेर बस्न बाध्य पार्ने काम सरकारी कार्यालयको अव्यवहारीक कार्यले भएको नाटा लुम्बिनीको भनाइ छ।

    ‘संघिय सरकारको पर्यटन हेर्ने विभागिय मन्त्रालय र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयको निर्णय तथा निर्देशनलाई समेत चुनौति दिँदै एउटा कार्यालयले गरेको उक्त अवरोधले पुरै पर्यटन क्षेत्रलाई चिन्तीत र निराश बनाएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

    अध्यक्ष पन्त र महासचिव श्रेष्ठले विद्युतीय बस सञ्चालनको अगुवाइ गर्न लुम्बिनी विकास कोषलाई आग्रह गर्दै आफूहरुले दबाब मुलक कार्यक्रम गर्न तयार रहेको विज्ञप्ती मार्फत बताएका छन्।