२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • गर्मी छल्दै दृष्य नियाल्न श्रीनगर, बैशाख र जेठमा मात्र ५० हजार पर्यटक आए


    तानसेन– बैशाख यता पाल्पाको पर्यटकिय क्षेत्र श्रीनगरमा पर्यटकहरुको चहलपहल बढेको छ। तानसेन बजार भन्दा केही उचाइमा रहेको श्रीनगर डाँडामा विशेष गरि तराइ तथा भारतबाट समेत गर्मी छल्न आउने गर्दछन्। श्रीनगर डाँडाबाट परसम्मका दृष्यहरुका साथै मनोरम हिम श्रींखलाहरु नियाल्न सकिन्छ। सफा मौसम भएको बेला श्रीनगरबाट माछापुछ्रे, अन्नपूर्ण धौलागिरि लगायतका हिम श्रींखला अवलोकन गर्न सकिन्छ।

    चालु आर्थिक वर्षको यो ११ महिनामा झण्डै १ लाख पर्यटक श्रीनगर आएका छन्। त्यसमा १८ सय जना सार्क मुलुकबाट आएको तान्सेन नगरपालिकाबाट श्रीनगरको व्यवस्थापनमा खटिएका कर्मचारी रबीकर श्रेष्ठले बताए । बर्षभर आएका कुल पर्यटकको आधा जसो अर्थात ५० हजार जति पर्यटक बैशाख र जेठमा मात्र आएको श्रेष्ठको भनाइ छ। ‘नयाँ वर्षको दिन त्यसै पनि भिड हुन्छ। त्यस यता गर्मीको बेला सितल खान आउनेहरुको राम्रै चहलपहल छ।’ उनले भने।

    श्रीनगरमा माघदेखी चैत्रसम्म बनभोज खानेहरुको चहलपहल हुन्छ। त्यस यता बैशाख जेठमा भने विशेष गरि गर्मी छल्न घुम्न आउनेहरु नै बढि हुन्छन्। श्रीनगरको व्यवस्थापन तान्सेन नगरपालिकाले नै हेरिरहेको छ। पर्यटकलाई लक्षित गरी विभिन्न पूर्वाधारहरु रहेको तान्सेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए। ‘यहाँ भ्युटावर छ, त्यस्तै बुद्धपार्क, हनुमान पार्क, रजत स्तम्भ पनि छ। त्यस्तै पिक्नीक स्पटहरुसँगै खेल मैदान पनि छ।’ उनले भने ‘पर्यटकहरुलाई सुविधा हुने गरि आगामी दिनमा नगरपालिकाले थप विकास र पूर्वाधार निर्माण गर्नेछ।’

    श्रीनगर भित्र प्रवेश गरेको २० रुपैया र भ्युटावर चढेको थप २५ रुपैया टिकट लाग्ने गर्दछ। श्रीनगर घुम्न आउने पर्यटकहरुका कारण तानसेनका होटलमा चहलपहल बढेको छ। पाल्पा होटल संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य मोहन श्रेष्ठले अघिल्लो वर्ष भन्दा यो वर्ष तानसेनका होटलमा कारोबार बढेको बताए। ‘अघिल्लो वर्ष यो समय भन्दा अहिले पर्यटक आगमन राम्रो छ। होटल व्यवसाय लयमा फर्किन लागेको जस्तो लागेको छ त्यसैले आशावादी छौं।’ उनले भने ‘नेपालका सँगै भारतीय पर्यटकहरु पनि आएका छन्।’

    श्रीनगरसँगै भैरब मन्दिर, रानीमहल जाने आउने पर्यटकका कारण पनि पाल्पाका होटललमा चहलपहल बढेको हो । तर गर्मी याममा सबै भन्दा बढि श्रीनगर जाने पर्यटक नै पाल्पामा आउने गर्दछन्।