२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • जितगढी, रामापिथेकस पार्क, सेनकालिन दरबारलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गरिने

    बुटवलको नीति कार्यक्रममा के कस्ता छन् पर्यटनका कार्यक्रम

    बुटवल – बुटवल उपमहानगरपालिकाले जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबारजस्ता महत्वपूर्ण स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गर्ने भएको छ। विहिवार सार्वजनिक भएको नीति कार्यक्रममा एतिहासीक पुरातात्वीक यी स्थानहरुलाई नगर गौरबको सम्पदाको रुपमा विकास गर्ने निर्णय गरेको हो।

    नीति कार्यक्रममा जितगढी किल्लाको संरक्षण गर्दै जितगढी युद्ध संग्रहालय निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख छ।
    जितगढी किल्लासँगै एक दर्जन बढि ऐतिहासिक धार्मिक तथा सांस्कृतीक स्थलहरुमा आन्तरिक तथा बाहय पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा भनिएको छ। पूरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथ धाम, निलकण्ठबाबा धाम, नरैनापुर धाम, बैठौलिया ताल, वाटरपार्क, थारु संग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायतका स्थानमा यस्ता कार्यक्रम गरिने उपमहानगर प्रमुख खेलराज पाण्डेले जानकारी दिए।

    नुवाकोट क्षेत्रमा कर्णेल उजिरसिंह पार्क, रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिने बुटवलको नीति कार्यक्रममा उल्लेख छ। बुटवल नगरको पर्यटकीय वृत्तचित्र निर्माण तथा प्रतियोगिता, नगर परिचय गीत, मायाको चिनो तयार गरि पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिने कुरा नीति कार्यक्रममा समेटिएको छ।

    बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकास गर्दै पर्यटक आगमनलाई बढावा दिने उपमहानगरपालिकाको योजना छ । त्यसको लागि टुर गाईड उत्पादन गरी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुलाई प्रोत्साहन गरिने नीति कार्यक्रममा बताइएको छ।

    बुटवलको पहिचान र पर्यटन प्रवद्र्धन गर्न विभिन्न स्थानमा कर्णेल उजिरसिंह र मणिमुकुन्दसेनको शालिक स्थापना गरिने साथै मुख्य सडक क्षेत्रमा रहेका शालिकहरु उचित स्थानमा व्यवस्थित गर्न सम्बन्धित पक्षसँग समन्वय गरिने उपमहानगरले जनाएको छ।

    ऐतिहासिक बटौली क्षेत्रका परम्परागत धार्मिक एवं पूरातात्विक सम्पदाहरुको संरक्षणका लागि विकास साझेदारहरुसँगको सहकार्यमा गुरुयोजना तयार र संघीय तथा प्रदेश सरकारको सहकार्यमा कार्यान्वयन प्रक्रिया अघि बढाइने पाण्डेले जानकारी दिए।

    वडा नंं ११ स्थित देवीनगरमा वी.पी. कोईराला, पुष्पलाल श्रेष्ठ र सूर्य प्रसाद प्रधानको स्मृतिमा शालिक सहित पार्क निर्माणलाई निरन्तरता दिइने, विभिन्न जातजाति, धर्म संस्कृतिको जगेर्नाका लागि धार्मिक आस्थाका धरोहरहरु मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्चको संंरक्षण तथा सम्बद्र्धन गरिने नीति कार्यक्रममा भनिएको छ ।

    वडा नं.३, ४, ६, ७ र ८ हुँदै बग्ने सुखौरा खोला व्यवस्थित गरि हरियाली सहित पैदल मार्ग निर्माणका लागि स्थानियहरुसँगको समन्वय र संघीय तथा प्रदेश सरकारको सहकार्यमा कार्यान्वयन गर्न पहल गरिने नीति कार्यक्रम मार्फत उपमहानगरले जनाएको छ ।