२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु

    पोखरा -पोखराको फेवातालमा आजदेखी नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’सुरु भएको छ। नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र ताल किनारको क्याम्पिङ चोकमा फेस्टिभल सुरु भएको हो।

    फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र चिनबीचको सम्बन्ध आज पनि सुमधुर रहेको बताए। पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे। उनले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सुत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रह समेत गरे।

    नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृति सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गरे।
    पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरुले महत्वपूर्ण रुपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पयर्टकको आगमन बढ्ने विश्वास व्यक्त गरे।

    ‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुङगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन्। सोही ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन्। निर्धारित दूरी सबैभन्दा अघि पार गर्ने टोली विजेता बन्छ।

    बोट रेस र फेस्टिभलमा सहभागिताका लागि चिनियाँ टोली बुधबार चार्टर उडानबाट सिधै पोखरा आएको हो । बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अन्तर्गत शुक्रबार र शनिबार फेवातालमा दुइसय र पाँचसय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए।