२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • ‘भिजिट लुम्बिनी स्टे इन तिलोत्तमा’ अभियान सञ्चालन गरिने

    नगरका मुख्य चोकमा पर्यटन सूचना पाटी राखिने


    तिलोत्तमा – तिलोत्तमा नगरपालिकाले लुम्बिनी घुम्न आउने पर्यटकलाई आफ्नो नगरमा बस्न अभियान सञ्चालन गर्ने जनाएको छ। शनिवार प्रस्तुत भएको तिलोत्तमाको आगामी आर्थिक वर्षको नीति कार्यक्रम सो अभियान सञ्चालन गरिने उल्लेख छ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै तिलोत्तमाका मेयर रामकृष्ण खाणले लुम्बिनी विकास कोषको समन्वयमा सो अभियान सञ्चालन गर्ने बताए। ‘हस्पिटालिटीमा क्षेत्रमा नगरपालिकामा बढ्दै गएको लगानीलाई प्रोत्साहन गर्न लुम्बिनी विकास कोषको समन्वयमा लुम्बिनी घुम्न आउने पर्यटकलाई तिलोत्तमामा बसाल्न भिजिट लुम्बिनी स्टे इन लुम्बिनी सञ्चालन गरिने छ।’ उनले भने।
    लुम्बिनीमा पछिल्लो समय स्तरिय होटल तथा रेष्टुरेन्टहरु खुल्ने क्रम बढेको छ।

    तिलोत्तमाको नीति कार्यक्रममा नगरपालिकाले विकास गरेको टुरिजम एप्सलाई थप परिस्कृत गर्दै व्यवस्थीत गरिने उल्लेख छ।
    सबै वडाका पर्यटकिय स्थलको जानकारी सहित तिलोत्तमा पर्यटन पुस्तीका प्रकाशन गरिने, घुम्न जाउँ तिलोत्तमा, तिलोत्तमा घुमौं, तिलोत्तमा चिनौं जस्ता अभियान मार्फत आन्तरिक पर्यटन प्रर्वद्धका क्रियाकलाप सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

    बनवाटिका क्षेत्रमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने, नगरका मुख्य चोकमा पर्यटन सूचना पाटी राखिने नीति कार्यक्रममा उल्लेख छ। रोहिणी तिनाउ सौन्दर्यकरण योजना सञ्चालन गरिने रोहिणीमा बाँध बनाइ निमार्ण हुने जलाशयमा देवदह नगरपालिकासँगको सहकार्यमा जल पर्यटन सेवा सञ्चालन गरिने नगरप्रमुख खाणले बताए।

    वडा नम्बर १३ मा संघ र प्रदेशको सहलगानीमा थारु संग्रालय सम्पन्न गर्ने, सखिया थारु होम स्टेलाई तिलोत्तमा नगरपालिकाको अतिथि सत्कार क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ।