२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

    काठमाडौं -राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।

    विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ ।

    भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। “भैरहवाबाट हङकङ उडानको तयारी गरेका छौँ, एक-दुई दिनमै टुङ्गो लाग्छ । नयाँदिल्लीसहित अन्य मुलुकमा पनि उडान विस्तार गर्ने योजना छ”, उनले भने ।

    अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्नेगरी टिकट बुकिङ खुला गरिने पौडेलको भनाइ छ । दुबई, दोहालगायत गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने योजना छ ।

    निगमले हाल काठमाडौँबाट हङकङमा सातामा दुई उडान गर्दै आएको छ । त्यस्तै नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ । दुवै गन्तव्यमा भैरहवाबाट कति उडान गर्ने भन्ने अहिले टुङ्गो लागिनसकेको प्रवक्ता पौडेलले बताए।

    निगमले गत जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नाका साथै  भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँमा उडान गरिरहेको हो ।