२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • पर्यटन प्रबद्र्धनका लागि सिद्धार्थ होटल संघको टोली श्रीलंका प्रस्थान

    भैरहवा– पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रबद्र्धनका लागि नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले सिद्धार्थ होटल संघ नेपाल (सान)को टोली श्रीलंका प्रस्थान गरेको छ। नेपाल–श्रीलंका सेल्स मिसन २०२३ मा सहभागी हुन मंगलबार मध्यान्न पर्यटन व्यवसायी र सरकारी उच्च अधिकारीसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंका प्रस्थान गरेको हो। यही असार १२ देखि १७ सम्म संघको आयोजनामा श्रीलंकामा हुने उक्त कार्यक्रममा नेपाल टुरिजम बोर्ड पबद्र्धककारुपमा छ।

    पर्यटन प्रबद्र्धनका लागि श्रीलंकाको क्यान्डी र कोलम्बोमा कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुन नेपाली टोली श्रीलंका प्रस्थान गरेको आयोजक सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए। श्रीलंकाका दुई सहरमा हुने कार्यक्रममा त्यहाँका ट्राभल एजेन्सीहरुसँग विजनेश टु विजनेश (विटुबी) हुनेछ। सुरुमा असार १३ गते क्यान्डीमा कार्यक्रम तथा बीटुबी हुनेछ । त्यसमा श्रीलंकाका ५० बढी ट्राभल एजेन्सी, टुर अपरेटर र नेपाली पर्यटन व्यवसायीको सहभागिता रहनेछ।

    विटुबीमा दुबै देशका व्यवसायीले आआफ्नो मुलुकको पर्यटन क्षेत्रको गन्तव्यहरुको जानकारी गराउनेछन्। साथै नेपाली व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीसहित मुलुकका पर्यटकीयस्थलको प्रचारप्रसार, टुर प्याकेज बनाउन आग्रह गर्नुका साथै टुर अपरेटर मार्फत् श्रीलंकाका नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नेछन्। त्यहाँ नेपाली प्रतिनिधि मण्डलले विशेष समारोहमा सम्बोधन गर्नेछन् भने भिडियोमार्फत् नेपालको पर्यटकीयस्थलको प्रचारप्रसार गरिनेछ।

    यस्तै, असार १६ गते कोलम्बोमा हुने कार्यक्रममा त्यस क्षेत्रका पर्यटन व्यवसायी, टूर अपरेटर, श्रीलंकाका पर्यटन मन्त्री, त्यहाँका सरकारी उच्च अधिकारी, श्रीलंकाका लागि नेपाली राजदुत, नेपाली पर्यटन व्यवसायीबीच अन्तरक्रिया, नेपालका पर्यटकीय क्षेत्रको प्रबद्र्धन लगायतका कार्यक्रम तय गरिएको छ । यहाँ श्रीलंकाका होटल तथा ट्राभल व्यवसायी, टुर अपरेटर, पर्यटन विज्ञसहित डेढ सय बढी सहभागी हुनेछन्।

    कार्यक्रममा बुद्ध जन्मस्थल लुम्म्बिनी, तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, कुदान लगायत बुद्धिष्ट क्षेत्रसँग सम्बन्धित र मुलुकभरका पर्यटकीय स्थलका बारे तयार पारिएको भिडियो डकुमेन्ट्री देखाइने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय र लुम्बिनीस्थित श्रीलंकन बिहारका भन्ते भिक्षु नन्द श्रीले लुम्बिनी र नेपालको पर्यटकीयस्थलबारे दिएको भिडियो सन्देश देखाइने छ । यस्तै, श्रीलंकाका प्रधानमन्त्री दिनेश गुनावरदेना, पर्यटन मन्त्री, उच्च सरकारी अधिकारीलाई भेटेर सिद्धार्थ होटल संघको टोलीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, पर्यटनमन्त्रीलगायतलाई नेपाल भ्रमणको निमन्त्रणा दिनेछन्।

    ‘पर्यटनका लागि कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण मानिन्छ, यदि श्रीलंका–भैरहवा दैनिक उडान हुने हो भने लुम्बिनीमा मात्रै वार्षिक १० लाख श्रीलंकनहरु आउँछन्’, श्रेष्ठले भने। संघका उपाध्यक्ष किशोर जोशीले अन्तर्राष्ट्रिय जगतमा जति प्रचारप्रसार गर्न सकियो, त्यती नै लुम्बिनी लगायत मुलुकका गन्तव्यहरुमा पर्यटक भित्र्याउन सकिने जनाए।