२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्सद्वारा लुम्बिनी भ्रमण

    लुम्बिनी– संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन। चार दिवसीय भ्रमणमा नेपाल आएका पियरे विहिवार लुम्बिनी आएका हुन्।उपमहासचिव पियरेलाई विहिवार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए।

    कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए । राष्ट्रसंघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव पियरेले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउदा निकै खुशी लागेको सुनाए। उनले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघले सहकार्य गर्दै आएको बताउँदै आगामि दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।

    उपमहासचिव ल्याक्रोइक्सले मायादेवी मन्दिरसँगै शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स, र भियतनाम गुम्बाहरुको अवलोकन गरेका थिए।भ्रमणमा नेपाली सेनाको युद्ध कार्यविभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षामन्त्रालयका सहसचिव बाबुराम अधिकारी सहित नेपाली सेनाका अधिकारीहरु सहभागी थिए।

    संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा छ ।