२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • श्रीलंकाको क्याण्डीमा नेपाल प्रवद्र्धन कार्यक्रम, लुम्बिनीबाट बौद्धस्थलको भ्रमण थाल्न आग्रह

    क्याण्डी (श्रीलंका)-नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रवद्र्धन गर्न आग्रह गरेका छन्। श्रीलंकाको क्याण्डीमा भएको नेपाल–श्रीलंका सेल्स मिसन कार्यक्रममा उनीहरुले बुद्ध जन्मस्थलबाट टूर प्याकेट सुरु गरेर अन्य बौद्ध स्थलहरु जोड्नु पर्नेमा बताए। नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघको संयुक्त आयोजनामा भएको नेपाल–श्रीलंका सेल्स मिसन कार्यक्रम भएको हो।

    श्रीलंकन र भारतीय ट्राभल एजेन्सीहरुले भारतको बोधगया लगायतका बौद्धस्थलबाट टुर प्याकेज बनाएर पर्यटकलाई लुम्बिनी लैजाँदा बसाई अवधि बढ्न सकेको छैन। अब टुर प्याकेज बनाउँदा लुम्बिनीलाई केन्द्रमा राखेर बनाइनु पर्ने नेपाली पर्यटन व्यवसायीको जोड छ। यसबाट पर्यटकको बसाइँ अवधि बढ्ने अपेक्षा गरिएको छ।

    सेल्स सिमन कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले लुम्बिनीमा श्रीलंकन पर्यटकहरुलाई आमन्त्रण गर्न नेपाली टोली यहाँ आएको बताए। नेपाल र श्रीलंकका पर्यटन व्यवसायीहरुको सहकार्यले एकअर्का देशमा पर्यटन प्रबद्र्धन गर्न सकिने उनले राखे। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलम्बो उडानका लागि नेपाल बायुसेवा निगम तयारी रहेको बताउँदै श्रीलंकन एयरलाइन्सलाई समेत भैरहवा उडान गर्न आह्वान गरे।

    सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले श्रीलंकन नागरिकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निमन्त्रणा दिए। उनले बौद्धस्थलको टूर प्याकेट बनाउँदा लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुको तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटीहवा हुँदै बोधगया, सारनाथ, कुशीनगरलाई समेटर बनाउन आग्रह गरे।‘लुम्बिनी आउन हवाई मार्ग सहज बनेको छ, लुम्बिनीको काखैमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, श्रीलंकाबाट सिधा उडान गर्नुस् र लुम्बिनीबाट बुद्धस्थल भ्रमण सुरु गर्नुस्,’ उनले भने।

    नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपाल र श्रीलंकाको जनस्तरमै सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र बुद्धिष्ट पर्यटकहरुलाई नेपाल जीवनमा एकपटक पुग्नै पर्ने गन्तव्य रहेको बताए।

    श्रीलंकन प्रशिद्ध भिक्षु धर्मराथना थेरोले श्रीलंका र नेपाललाई गौतम बुद्ध र बौद्ध पर्यटकीय गन्तव्यले जोडेको उल्लेख गरे। बुद्ध नेपालमा जन्मनु नेपालीहरुका लागि शौभाग्य भएको उल्लेख गर्दै उनले हरेक श्रीलंकनलाई जीवनमा लुम्बिनी र बौद्ध पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्न आग्रह गरे। श्रीलंकन एयरलाइन्सका प्रबन्धक उपेन्द्र राजापाक्षले आफ्ना अधिकतम नागरिकलाई नेपाल पुर्याउन श्रीलंकन एयरले सहयोग गर्ने बताए।

    सिद्धार्थ होटल संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक किशोर जोशीले नेपालमा अधिकत पर्यटकहरु पठाउन र लुम्बिनी एवं आसपासका बौद्ध गन्तव्यहरुमा घुमाउन उपस्थित श्रीलंकन पर्यटन व्यवसायीलाई आग्रह गरे।

    कार्यक्रममा नेपालका पर्यटन व्यवसायीसहित श्रीलंकन एयरलाइन्सका प्रतिनिधि, त्यहाँका होटल, ट्राभल, टुर अपेरेटर गरी ६० बढी सहभागी थिए । त्यहाँ विजनेस टु विजनेस (विटुबी) पनि भएको थियो। क्याण्डी पछि जुलाई १ तारिखमा श्रीलंकाको राजधानी कोलम्बोमा नेपाली टोलीले भव्य कार्यक्रम गर्दैछन्।