२०८१ आश्विन २१ गते, सोमबार १३:०४
  • पर्यटकको बसाइ लम्ब्याउने योजना ल्याउनुपर्नेमा जोड

    भैरहवा– पर्यटकको बसाई लम्ब्याउन नसक्दा अपेक्षित रुपमा पर्यटन क्षेत्रको विकास हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन्। उनीहरुले पर्यटकको बसाइ लम्ब्याउने योजना बनाउनपर्नेमा जोड समेत दिए। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ को वडा कार्यालयले भैरहवामा आयोजना गरेको पर्यटनको प्रवर्द्धनमा सिद्धार्थनगरको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले भैरहवामा सुविधासम्पन्न होटल हुँदा पनि पर्यटकको बसाई लम्ब्याउन नसकेको गुनासो गरे।

    कार्यक्रममा साहित्यकार विजय गोविन्द श्रेष्ठले पर्यटक महल मात्र हेर्न नआउने भन्दै भैरहवाका मठमन्दिरको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरे। नगरपालिकामा उद्घाटन भइसकेको कतिपय संरचना सञ्चालनमा आउन नसकेको भन्दै यथाशिघ्र सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ।

    सिद्धार्थ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा सिद्धार्थनगर वडा नं। ५, १२, १३ का अध्यक्ष गोविन्द प्रसाद बस्यालले पर्यटन प्रवर्द्धनका लागि डण्डाखोलाको संरक्षण आवश्यक रहेकोमा जोड दिए।सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउनुपर्ने माग गरे।

    उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले रात्रीकालीन बजारलाई जोड दिनुपर्ने भन्दै बजार झिलीमिली र रंगीचंगी बनाउन सके पर्यटक आकर्षित हुने बताए। भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले पर्यटकलाई खुसी बनाउन व्यवहारमा परिवर्तन हुनुपर्ने उल्लेख गरे।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासेले पर्यटकको बसाई लम्ब्याउने वातावरण बनाउनुपर्ने बताए। भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले विगतमा भैरहवामा निर्माण भएको लुम्बिनी गेटका कारण पनि पर्यटन प्रवद्र्धनमा टेवा पुगेको उल्लेख गरे।