२०८३ बैशाख २८ गते, सोमबार १७:३७
  • पर्यटन आगमन बढेपनि बसाइ अवधि र पर्यटकले गर्ने खर्च घट्यो

    काठमाडौँ -सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा नेपालमा पर्यटन आगमन ह्वात्तै बढेको छ। पर्यटकको बसाइँ अवधि र खर्च घटेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क–२०२२’ अनुसार पर्यटकको बसाइँ औसतमा १३.१ दिनमा झरेको छ । सन् २०२१ मा पर्यटकको सरदर बसाइँ अवधि १५.५ दिन थियो ।

    बसाइँ अवधि घटेसँगै पर्यटकको सरदर दैनिक खर्च पनि घटेको छ। एक पर्यटकको प्रति दिन खर्च घटेर अहिले ४०।५ डलरमा आएको छ । सन् २०२१ मा यो खर्च ४५ डलर थियो। तर पर्यटन आगमन बढ्दा पर्यटन क्षेत्रबाट आर्जन हुने आम्दानी पनि वृद्धि भएको छ।

    अघिल्लो वर्षको तुलनामा गत वर्ष पर्यटक आगमन ३०७ प्रतिशतले र आम्दानी १९० प्रतिशतले बढेको देखिएको छ। सन् २०२१ मा यसबाट ३२ करोड ६२ लाख विदेशी मुद्रा आम्दानी भएकोमा सन् २०२२ मा भने यस्तो आम्दानी बढेर ४६ अर्ब ७६ करोड रुपैयाँ पुगेको पर्यटन मन्त्रालयको तथ्यांकले देखाएको छ।