२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • सेन राजाको इतिहास जोडिएको बुटवलको फूलबारी, जहाँ वार्षिक ५ लाख बढि पर्यटक आउँछन्

    बुटवल-बुटवलको मुख्य बजारबाट तिनाउ पारी केही उचाइमा मनोरम उद्यान छ। बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द सेन उद्यान यस क्षेत्रको एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। यो ठाउँ फूलबारीको नामले परिचित छ।

    रुपन्देहीमा बुद्ध जन्मस्थल लुम्बिनी पछि पर्यटकहरुको बढि चहलपहल हुने ठाउँ मणिमुकुन्द सेन उद्यान मानिन्छ। विशेष गरि जाडो महिनामा उद्यानमा अवलोकनकर्ताको निकै भिड लाग्ने गर्दछ। कात्र्तिकदेखी फागुनसम्म बनभोज खान आउनेहरुको बाक्लो चहलपहल हुन्छ। त्यस्तै लगनका बेलामा विवाह लगायतका कार्य पनि हुने गर्दछ। कात्र्तिक, मंसिर महिनामा देशका विभिन्न भागबाट शैक्षिक भ्रमणमा हिडेका विद्यार्थीहरु बुटवलको यो मणिमुकुन्द सेन उद्यानमा पस्ने गरेका छन्। फूलबारीमा आन्तरिक मात्र नभई भारतीय पर्यटकहरु समेत आउँछन्।

    टिकट काटेर मात्र बार्षिक ५ लाख पर्यटक प्रवेश गर्ने गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइटेलले बताए। ‘कसैले पैसा तिर्छन कतिपयले नतिरिकन पनि प्रवेश गर्ने हुन्छन्। बर्षको ५ लाख टिकट काटेरै प्रवेश गर्छन् । टिकट नकाटेर आएका सहित गर्दा कुल ८ लाख जति प्रवेश गर्लान भन्ने अनुमान हो।’ उनले भने।

    पार्कभित्र विभिन्न बाटिककाका साथै, बाल उद्यान, चिडिया घर पनि रहेको छ। यहाँ चितुवा, भालु, स्याल, बाँदर, हरिण, निलगाइ, जरायो, मृग, अजिंगर लगायतका जनावरहरु छन्। उद्यान भित्र मणीमुकुन्द सेनको शालीक पनि निर्माण गरिएको छ । आदिमावन रामापिथेकसको शालीक पनि रहेको छ। यस्तै गौतमबुद्ध, मायादेवी, उजिरसिंह लखन थापा, दशरथचन्द, भिमदत्त पन्त, यादवनाथ आलोक, जिवराज आश्रीत, तारापति भट्राई, वसिर मिया, सूर्यप्रसाद घिमिरे, चोकबहादुर गुरुङ लगायतका अर्धकदका सालिक पनि राखेर बुटवल स्मारक बनाइएको छ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको यो उद्यान तत्कालिन सेन राजाको सितकालिन दरबार रहेको ठाउँ पनि हो।
    मुकुन्द सेन तत्कालीन पाल्पा राज्यका राजा रुद्र सेनका जेठा छोरा हुन्। उनी १५७५ सालमा पाल्पाको राजा भए ।
    मुकुन्द सेनले रुपन्देही र पाल्पाको सीमा क्षेत्र नुवाकोटमा गृष्मकालीन र बुटवलमा शीतकालिन दरबार निर्माण गरि राज्य चलाएको इतिहासमा उल्लेख छ।

    जडो समयमा उनले बुटवलमा बस्ने र गर्मी याममा नुवाकोटमा बसेर राज्य चलाउँथे। मुकुन्द सेनलाई पछि मणिमुकुन्द भन्न थालियो । यही मणीमुकुन्द सेनको नामबाट यहाँ पार्क स्थापना भएको हो। मणिमुकुन्द सेन उद्यानमा अहिले पनि यहाँ शीतकालिन दरबारको भगनावशेष देख्न सकिन्छ।

    त्यतीबेला दरबार बनाउँदा नै यहाँ बगैँचा बनाइ फलफूल लगाइएको थियो । फलफूलका बगैंचा समेत भएकाले विगतदेखी नै यो ठाउँलाई फूलबारी भनेर चिनिने गर्दथ्यो।

    २०३७ सालमा मुन्नीलाल शाक्य बुटवलको प्रधानपञ्च हुँदा पार्कको रुपमा विस्तार गर्न सुरुवात भएको हो। त्यसबेला शाक्यले ऐश्वर्य पार्कको रुपमा अगाडि बढाउन खोजेका थिए। २०४६ सालमा प्रजातन्त्र आएपछि पुनः फूलबारीकै नामले चिनियो।

    २०५३ सालमा बुटवलका तत्कालिन नगरप्रमुख सूर्यप्रसाद प्रधानको पालामा फूलबारीलाई व्यवस्थित गर्न खोजियो। प्रधानले विधान लेख्ने जिम्मा आफूलाई दिएको बुटवलका पूर्वउपमेयर विमलबहादुर शाक्य बताउँछन्। ‘त्यसबेला म जनप्रतिनिधि भइसकेको थिइन। शिक्षक भएको बेला विधान लेख्ने जिम्मा पाएको थिएँ।’ उनले भने ‘०५४ सालमा हामी नगरपालिकामा गयौं। त्यसपछि विधानलाई परिवर्तन गरेर संस्था दर्ता भएको हो।’

    २०५४ सालमा भोजप्रसाद श्रेष्ठ बुटवलको मेयर बनेपछि त्यसै बर्ष मणिमुकुन्द सेन उद्यान संस्थाको रुपमा दर्ता भयो। नगरप्रमुखको हिसाबले श्रेष्ठ नै उद्यान समितिको संस्थापक अध्यक्ष बने। त्यसयता जो नगरप्रमुख छ सोही उद्यानको अध्यक्ष बन्ने व्यवस्था थियो। २०६५ सालमा स्वायत्त संस्थाको रुपमा सदस्यहरुबाटै नेतृत्व चयनको व्यवस्था भयो। सो वर्ष मोतिराज ज्ञवाली मणिमुकुन्द उद्यान संरक्षण समितिको अध्यक्ष बने। हाल खेम लुइँटेल समितिको अध्यक्ष छन्।

    मणीमुकुन्द सेन उद्यानको २० हेक्टर समेट्ने गरि गुरुयोजना बनेको छ। गुरुयोजना अन्तर्गत अहिले पूर्वाधार निर्माणका काम पनि भइरहेको समितिका अध्यक्ष लुइटेलले बताए। मणी मुकुन्द सेन उद्यानकै पहलमा गत जेठ महिनामा राष्ट्रिय पार्क सम्मेलन भएको थियो। सम्मेलनबाट नेपाल पार्क महासंघ गठन गरिएको थियो। महासंघको नेतृत्व पनि मणिमुकुन्द सेन उद्यानले गरेको छ। जसको अध्यक्ष खेम लुइटेल नै रहेका छन्।

    यसैबीच मणिमुकुन्द उद्यान संरक्षण समितिकोे पाँचौं अधिवेसन तथा ११ औं साधारण सभा शनिवार हुँदैछ। अधिवेसनले नयाँ नेतृत्व चयन गर्दैछ। समितिको आगामी अध्यक्ष माधव नेपाल बन्ने भएका छन्। अधिवेसनको निर्वाचनको नेपालको मात्र उम्मेद्वारी दर्ता भएकाले उनी निर्विरोध भएका हुन्। यस्तै अधिवेसनले उद्यानका विगतको समिक्षा र आगामी योजनाको बारेमा निर्णय गर्ने छ।