२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • बेलहिया नाकाबाटै भित्रिन्छन् स्थलमार्ग हुँदै आउने ९० प्रतिसत पर्यटक

    २०२२ मा कुन नाकाबाट कति पर्यटक आए ?

    बुटवल – सन २०२२ मा नेपाल भित्रिएका ६ लाख १४ हजार ८६९ पर्यटक मध्ये २२ हजार २२८ जना स्थलमार्ग हुँदै आएका छन्। बाँकी सबै पर्यटक जहाज मार्फत आएका हुन्। रुपन्देहीको बेलहिया नाका स्थलमार्ग हुँदै पर्यटक भित्रिने प्रमुख नाका हो। बेलहिया नाकाबाट मात्र सन् २०२२ मा २० हजार १८१ पर्यटक आएको हालै प्रकाशित नेपाल पर्यटन तथ्यांक २०२२ मा उल्लेख छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो।

    स्थलमार्ग हुँदै पर्यटक भित्रिने कुल पर्यटक संख्याको ९० प्रतिसत बेलहिया नाकाबाटै प्रवेश गरेको देखिएको छ। बेलहियाबाट भित्रिने मध्ये अधिकांस पर्यटक बुद्ध जन्मस्थल लुम्बिनीका लागि आएका छन्। त्यसै गरि पाल्पा, पोखरा हुँदै मुक्तिनाथसम्म जाने पर्यटकहरु पनि बेलहिया हुँदै आउने गर्दछन्।

    नेपाल पर्यटन तथ्यांक २०२२ का अनुसार बेलहियापछि धेरै पर्यटक भित्रने नाका विरगञ्ज नाका हो। विरगञ्जबाट अघिल्लो वर्ष ८६४ पर्यटक आएका छन्। त्यसै गरि झापाको काकडभित्ताबाट ६२५, कञ्चनपुरको गड्डाचौकीबाट ५३० जना र मोरङको विराटनगर हुँदै ३७ जना पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ।