२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • लुम्बिनी केबलकारमा ‘मर्निङ अफर’, बुधबार विहान टिकट काट्दा ५० प्रतिशत छुट

    बुटवल- लुम्बिनी केबलकारले हप्ताको एक विहान टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ। साउन र भदौ महिनामा हरेक बुधबार विहान ९ बजेदेखि १२ बजेसम्म टिकट काट्ने पर्यटकहरुका लागि ५० प्रतिसत छुटको व्यवस्था गरिएको हो।

    हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयां रहेको छ। सो समयावधिमा  टिकट काट्दा नेपाली नागरिकले ३७५ रुपैयांमा यात्रा गर्न पाउने केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए।

    भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ। अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ।

    लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा आएको हो। केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ।
    मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।

    टप स्टेशनमा सय वर्ष पुरानो भगवती मन्दिर, महादेव शिवको वाहन नन्दी, वर पिपल चौपारी,पोखरी लगायतका धार्मिक संरचनाहरु रहेका छन्। साउन महिनामा टप स्टेशनमा जलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ।