२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

    दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो। ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ।

    बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका छन् ।

    गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल ९मिनी ग्रेटवाल०, विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताए ।

    बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।

    सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।