२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • पर्यटन पढ्ने कालिकाका विद्यार्थीद्वारा ‘लुम्बिनी चिनौं’ अभियान सुरु

    कपरकट्टी ताल र शक्तीपिठहरुको अवलोकन

    बुटवल-बुटवलको कालिका मानवज्ञान माविमा पर्यटन तथा पर्वतारोण अध्ययन गर्ने विद्यार्थीहरुले पर्यटकीय स्थलहरुको अवलोकन गरेका छन्। ‘लुम्बिनी चिनौं, पर्यटकीय गन्तव्यहरुको प्रचार गरौं’ भन्ने अभियान सुरु गर्दै शुक्रबार विद्यार्थीहरुले रुपन्देहीका कपरकट्टी ताल, नर्वदेश्वर मन्दिर र पर्रोहा परमेश्वर बोलबम धामको अवलोकन गरेका हुन्।

    बुटवल उपमहानगरपालिका-१६ बैठौलियामा रहेको कपरकट्टी ताललाई मिनी फेवा ताल भनेर चिनिन्छ। पछिल्लो समय तालमा रमाउन आउनेहरुको संख्या बढेको छ।

    तालको केही दुरीमा रहेको नर्वदेश्वर मन्दिरलाई नरैनापुरधाम भनेर पनि चिनिन्छ। यो मन्दिर ३ सय वर्ष पुरानो भएको मानिन्छ।
    यस्तै पश्चिमको पशुपतिनाथ भनेर चिनिने सैनामैना नगरपालिकामा रहेको पर्रोहा बोलबामधाम यस क्षेत्रको महत्वपूर्ण धार्मिक गन्तव्य हो। साउन महिनामा बोलबामधाममा जलार्पण गर्नेको चहलपहल हुने गर्दछ।

    अवलोकन भ्रमणमा कक्षा ११ का ४५ जना विद्यार्थी सहभागी थिए। पर्यटन मामिलाका लेखक समेत रहेका शिक्षक युवराज कंडेलले विद्यार्थीलाई सहजीकरण गर्दै ताल र शक्तीपिठहरुको महत्वको बारेमा जानकारी गराएका थिए।

    पर्यटन विषयकी विद्यार्थी प्रसंसा भट्टराईले यो भ्रमणबाट सम्पदा चिन्न र जानकारी बाढ्न सघाउ पुग्ने बताइन्। ‘नजिकै राम्रा गन्तब्यहरु भएपनि जानकारी नहुदा घुम्नको लागि टाढा जाने गरिन्थ्यो।’ उनले भनिन ‘यो भ्रमणबाट पर्यटकीय स्थल र सम्पदा चिन्न र जानकारी बाढ्न सहज हुन्छ । यसलेपर्यटन प्रवर्द्धनमा पनि सघाउ पुर्याउँछ भन्ने आशा छ।’

    पर्यटनका विद्यार्थी मार्फत कात्र्तिक महिनासम्म ‘लुम्बिनी चिनौ’ अभियान सञ्चालन गरिने शिक्षक युवराज कंडेलले जानकारी दिए। यसै वर्षबाट कालिकामा व्यवस्थापन समूह अन्तर्गत पर्यटन तथा पर्वतारोहण विषयमा पढाइ सुरु भएको हो।