२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • बगनासकालीको तिनछाँगा, तीन झरनाको अवलोकनसँगै नुहाउनुको बेग्लै आनन्द


    तानसेन– पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर–४ खानीछापमा करिव ४० देखी ५० फुट अग्ला तीनवटा झरना छ । शनिवार नाट्टाका पदाधिकारी, सदस्य, पर्यटन व्यवसायी र सरोकारवालाहरु करिब २ घण्टा तिनछाँगामा रमाएका थिए। कोही नुहाउँदै थिए, केहीले एक आपसमा पानी छ्यापाछ्याप गरेर आनन्द लिए।

    नाट्टा पाल्पा च्याप्टरले “हाम्रो अभियान, नयाँ पर्यटकिय स्थलको पहिचान“ भन्ने नाराका सहित साउन महिनाको प्रत्येक शनिबार एक दिवसिय पदयात्रा गर्दै आएको छ। जस अनुसार दोस्रो शनिवार तिनछाँगा पुगेको हो।

    त्यसअघि विहान साढे ६ बजे तान्सेनबाट पदयात्राको सुरु भएको थियो । पाल्पा दरबार परिसरमा नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिवकुमार शाहको अध्यक्षता तथा नाट्टा लुम्विनी प्रदेशकी अध्यक्ष रचना पन्तको प्रमुख आथित्यतामा पदयात्राको शुभारम्भ भएको थियो।

    होमस्टे नेपालका केन्द्रीय उपाध्यक्ष धनिस्वर वस्यालको नेतृत्वमा ३५ जनाको पदयात्रा टोली विहान ८ वजे बगनासकालीको नायर पुग्यो। नायरमा चिया नास्ता गरेपछि जंगलको वाटो हुँदै साढे ११ वजे बगनासकाली- ४ अन्तरगत तिनछाँङ्गे गाउँमा पुग्यो। पदयात्रीको टोलीलाई स्थानियले फुल, टीका र मालाले स्वागत गरेका थिए। स्थानिय शिक्षक भोजवहादुर चर्चीले तिनछाँगाको बारेमा जानकारी गराए। मध्यान्नको १२ वजे खाना खाएपछि स्थानियले मगर भेषभुषा सहितको नाच गानसहित पदयात्रीलाई विदाई गरे।

    पैदलयात्राका क्रममा वग्नासकाली–४ खानीछापका युवा मोहन थापाले सो ठाउँको मुख्य विशेषता र तिनछाङे झरनाको इतिहाँस बारे बताएका थिए। खानीछापमा रहेको फलाम खानी र तामाखानीलाई जोडेर लैजाने हो भने थप पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाइ थियो। त्यसपछि पैदलयात्रीहरु तिनछाँगामा रमाएका थिए।

    दिउसो ३ वजे तिनछाँगाबाट निस्केपछि गुरुखोला दुर्गा मन्दिर प्रतिक्षालयमा संक्षिप्त कार्यक्रम गरिएको थियो। कार्यक्रममा कुलप्रसाद अर्यालले खानीछापका तीनछाँङा झरना, चमेरा गुफाको प्रचार र वन्जिजम्प निर्माणको अवधारणावारे जानकारी दिए।
    सम्बन्धित पक्षले चासो दिएमा खानीछापमा व्यवस्थित तरिकाले पर्यटक प्रवद्र्धन गर्न सकिने उनको भनाइ थियो।

    पदयात्राको सहजिकरण स्थानिय टोप वहादुर गाहाले गरेका थिए। गुरुखोलामा स्थानिय वडाका जनप्रतिनिधि सहित भएको परिचय तथा भ्रमणको समिक्षापछि पदयात्रा टोली मल्याङ हुँदै पाल्पाको राम्दी पुगि साँझ ६ वजे तानसेन फर्केको थियो।

    पदयात्रामा नाटा पाल्पा च्याप्टरका संस्थापक अध्यक्ष प्रदिपप्रसाद उदय, नाट्टा लुम्बिनीका बरिष्ठ उपाध्यक्ष चन्द्र थापा, कोषाध्यक्ष सुजित श्रीवास्तव, वोर्ड सदस्य प्रदिप कुमार पोखरेल र वरुण ज्ञवाली, गेट अफ पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठ, वग्नासकाली -४ का वडासदस्य खड्गबहादुर गाहा, पाल्पा उद्योग वाणिज्य संघका महासचिव समीरमान सिंह, पाल्पा व्यापार संघकी सदस्य उमा अर्याल, पाल्पा होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण वस्याल र महासचिव एवं संचारकर्मी जयराम सापकोटा, एकीकृत श्रीनगर पर्या–पर्यटन बनवाट सुनीता शर्मा, जोगर्स क्लवका शम्भु आचार्य, नाटा पाल्पाका कार्यसमिति सदस्य तथा व्यवसायीहरु र सरोकारवालाहरुको सहभागीता थियो।