२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • ‘फूलबारीसँगै जितगढी र बटौलीको पर्यटकीय विकासका लागि पहल गर्छु’ (अन्तर्वार्ता)

    अन्तर्राष्ट्रिय विमानस्थल सुचारु नभए ५० प्रतिसत होटलहरु विस्थापित हुने सम्भावना छ

    माधवप्रसाद नेपाल बुटवलमा लामो समयदेखी पर्यटनसँग जोडिएका व्यक्ती हुन्। झण्डै ४० वर्षदेखी उनले बुटवलमा होटल व्यवसाय गरेका छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका संस्थापक सचिव रहेका उनी संघको अध्यक्ष पनि भइसकेका छन्, त्यस्तै होटल व्यवसायी महासंघ नेपालको संस्थापक अध्यक्ष समेत हुन्। हाल उनी न्यु इरा होटलको सञ्चालक छन्।

    नेपाल अहिले नुवाकोट विकास समितीको अध्यक्ष पनि छन्। बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको २ कार्यकाल उपाध्यक्ष रहेका नेपाल केही दिन अघि भएको पाँचौं अधिवेसनबाट अध्यक्ष चुनिएका छन्। शुक्रबार मात्र उनले पदभार ग्रहण गरे । नेपालसँग मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारीको आगामी विकास अनि बुटवलको पर्यटकीय सम्भावनाका बारेमा हामीले कुराकानी गरेका छौं।

    मणीमुकुन्द सेन उद्यान संरक्षण समितिको अध्यक्ष निर्वाचित भएर यहाँले भरखर मात्र जिम्मेवारी सम्हाल्नुभएको छ। फूलबारीको विकासमा तपाईँको मुख्य प्राथमिकताहरु के हुन्?
    म एक कार्यकाल सदस्य र दुई कार्यकाल उपाध्यक्ष भएर यो संस्थामा काम गरें। त्यसमा पनि मैले निर्माण समितिको संयोजकका भूमिका निर्वाह गरेको थिएँं। फूलबारीमा अब भौतिक संरचना धेरै नबनाउने कि भन्ने सोंच छ। म साँच्चीकै फूलबारी अर्थात यहाँ फूलैफुलको बगैँचा बनाउने मेरो प्रयास हुन्छ। अर्को कुरा विद्यार्थीलाई लक्षित गरेर सौर्यमण्डल त्यहाँ राख्न पर्छ। सौर्यमण्डल भयो भने सारा गतिविधि विद्यार्थीले अध्यन गर्न सक्छन्। त्यो एउटा आकर्षणको केन्द्र बन्न सक्छ ।

    फूलबारी भित्र प्लाष्टीकजन्य बस्तुले फोहोर भएको छ। त्यसैले एउटा सानो दुनाटपरी उद्योग सञ्चालन गर्न पर्छ कि भन्ने सोंच अगाडी बढाएको छु। बृद्धबृद्धालाई लक्षित गरि सञ्चो विसन्चो केन्द्र स्थापना गर्ने योजना बनाएको छु। मणीमुकुन्द सेनको इतिहाससँग गाँसीएका पुरातात्वीक सामान र अन्य विभिद सामान सहितको बहुउदेश्यीय संग्रालय बनाउन म लागीपरेको छु। फुलबारीको माथि ठूला बृक्ष छन्। त्यहाँ बृक्ष जोडेर रुखमा रेष्टुरेन्ट लजको विकास गर्न आवश्यक देखेको छु। त्यसको परिकल्पना पनि गरेको छु। त्यस्तै स्वीमिङपुल र प्राथमिक उपचार केन्द्रको पनि योजना छ।

    तपाई लामो समयदेखी होटल व्यवसायमा हुनुहुन्छ। व्यवसायीहरुको नेतृत्व पनि गर्नुभयो। अहिले पर्यटकिय स्थलको नेतृत्व सम्हाल्नुभएको छ। पर्यटनसँग सम्बन्धित दुई फरक ठाउँको नेतृत्व गर्दा अन्तर के पाउनुभयो ?
    होटल पर्यटन क्षेत्रको एउटा पाटो हो। होटलले आथित्यता ग्रहण गर्ने, राम्रोसँग खानपान गराउने र सुरक्षित आरामदायी बास गराउने गर्नुपर्छ। त्यसका साथै सो क्षेत्रमा भएका ऐतिहासिक, धार्मिक, पुरातात्वीक, सांस्कृतीक र प्राकृतिक सम्पदाबारेमा जानकारी दिएर घुम्न जान अनुरोध होटलले गरेको हुन्छ।

    अहिले म उद्यानको नेतृत्वमा छु । उद्यानमा आउने आन्तरिक र बाहय पर्यटकले भरपुर मनोञ्जन लिनसक्ने खालको वातावरण निर्माणमा मेरो भूमिका हुन्छ। केही फरक भएपनि दुबै पर्यटनसँग सम्बन्धित भएकाले कतिपय मिल्दा जुल्दा र एकअर्काबीच सम्बन्धित पनि हुन्छ।

    फूलबारीमा सानो चिडियाघर छ। त्यहाँ जंगली जनावर पनि छन्। तर ति जनावरको लागि त्यहाँको वातावरण अनुकुल छैन भन्ने कुरा पनि उठेको छ। यसको व्यवस्थापनको लागि के पहल हुन्छ ?
    हिजोका दिनमा अस्तव्यस्त भएर जनावरहरु त्यहाँ रहेको अवस्था थियो। अहिले थोरै केही व्यवस्थीत भएको छ। यहाँको इतिहास फरक छ। जंगलमा अलपत्र परेका जनावरलाई संरक्षण दिने उदेश्यले त्यहाँ राख्ने व्यवस्था गरिएको हो। हामी विभिन्न ठाउँमा गएर चिडियाखानामा कुन जनावरलाई कसरी राख्नुपर्छ भन्ने विषयमा अध्ययन गरिरहेका छौं। कतिपयको बसाइको अवस्था मिलेको छ। कतिपयलाई सुधार गर्नुपर्ने स्थिती पनि देखीन्छ। जसरी अन्यत्र क्षेत्रमा उनीहरुले चाहेको वातावरण अनुकुलको स्थानमा राख्ने गरिन्छ। त्यो वातावरण मिलाउनको लागि पनि हामी लागी पर्छौ।

    तपाई नेतृत्वको समितिले पदस्थापना गर्दै गर्दा फूलबारी र जितगढीलाई जोडेर विश्वसम्पदाको सूचिमा सुचिकृतको पहल गर्ने कुरा उठ्यो। बुद्धको कृडास्थल तिलौराकोट त अझै त्यो सूचीमा परेको छैन। फूलबारी र जितगढी कसरी सम्भव छ?
    परमात्माले तैले चिताउँदै गर म पुर्याउँदै गर्छु भन्छ रे। हामी कल्पना नै नगर्ने हो भने सार्थक निष्कर्षमा पुग्न सक्दैनौं। त्यसैले मैले पदस्थापनाको दिन फूलबारी जितगढी र नुवाकोटलाई विश्वसम्पदाको सूचीमा राख्नको निम्ती यहाँका राजनीतिक दलहरुसँगै संघ, प्रदेश र स्थानिय सरकारको ध्यानाकर्षण गराउँछु भनेर भनेको हुँ। यसमा आवश्यकीय भूमिका सबै सरकारबाट हुन्छ भन्ने आशा राखेको छु।
    फूलबारीको हुलाक टिकट बनाउन पनि पर्छ भनेर मैले त्यसबेला भनेको थिएँ। हुलाक टिकट बनाउन त अलि सहज होला। तर विश्व सम्पदा सूचीमा लैजान एकदम मिहेनत गर्नुपर्छ। तर मलाई एक दिन त्यो सपना शाकार होला भन्ने लागिरहेको छ।

    यहाँले फूलबारीलाई जितगढीसँग जोड्ने कुरा गर्नुभयो। तर कात्र्तिक मंसिरमा फूलबारीमा शैक्षिक भ्रमणमा आउने विद्यार्थीको एकदम चाप हुन्छ। तर ति विद्यार्थीलाई राष्ट्रियतासँग जोडिएको जितगढी देखाउन समेत सकेका छैनौं त ?
    पहिलोकुरा फूलबारी, नुवाकोटगढी र जितगढीको इतिहास एक अर्कासँग सम्बन्धित छ । इतिहासविदहरुले जितगढीदेखी फूलबारीसम्म सुरुगमार्ग छ भनेर भन्ने गरेका छन्। म त्यो विषयमा पनि अध्ययन गर्दैछु। सम्भावना हुन्छ भने जितगढीबाट फूलबारीसम्म जाने सुरुगमार्ग बनाउन सबैले पहल गर्नुपर्छ। अहिलेको अवस्थामा पनि जितगढीमा जसरी पनि जानैपर्छ भन्ने पार्न आवश्यक छ।

    म एउटा होटल व्यवसायी हो। होटलमा आउने पाहुनाहरुले सोध्दा सबैभन्दा पहिले हामीले जितगढीको नाम पनि लिनुपर्छ। अंग्रेजहरुलाई परास्त गरेको महत्वपूर्ण जितगढी देखाउन हामी लामो समयसम्म पछि परेका थियौं। एक समय जितगढी कहाँ लुकेर बस्यो भन्ने अवस्था पनि सिर्जना भएको थियो। अहिले उपमहानगरपालिकाले पनि राम्रो काम गरेको छ। यसलाई थप चिनाउन फूलबारीमा आएकाहरुलाई जितगढी पनि पुग्नुपर्छ भन्ने सन्देश दिन आवश्यक छ जस्तो मलाई लाग्छ। त्यसको लागि मैले पनि पहल गर्ने छु।

    फूलबारीको ठ्याक्कै मुनि बुटवलको पुरानो बजार अर्थात बटौली छ। त्यो जिर्ण अवस्थामा छ। विगतमा उचित संरक्षण र व्यवस्थापन गरेको भए बटौलीको महत्व पनि फरक हुन्थ्यो होला। फूलबारी, जितगढीसँगै अब पुरानो बुटवललाई पर्यटनसँग जोड्न कत्तिको सम्भव छ?
    पारी बुटवल जहाँ पुरानो बजार थियो। त्यहाँ यती धेरै सम्पदा रहेछन् तपाई हामीले अहिलेसम्म खोजविन गरेका छैनौं। इतिहास बोकेका कति राम्रा मन्दीर, पुस्तकालय, सम्पदाहरु छन्। त्यहाँ नेवारी बस्ती, भारतीय मुलका मानिसहरु र केही पहाडे मुलका अन्य समुदायहरुको पनि बस्ती छ। त्यहाँ भएको पुराना घरहरुमा हामीले होमस्टे सञ्चालन गर्नुपर्छ। नेवार जातीबाट सञ्चालन भएको होम स्टेमा नेवारी मौलीक खाना पाउने व्यवस्था गर्न सकिन्छ। त्यसरी १५–२० घरमा होमस्टे सञ्चालन गर्न सकेमा एक पटक फेरी मानिसहरुको प्रवेश भएर चहलपहल हुन सक्छ।

    त्यसको सम्भावना व्यापक देखिएको छ। यो विषयमा हामीले पटक–पटक बहस र छलफल गरिरहेका छौं। बटौली क्षेत्रमा पुरानाघरका कलाकृति हेर्दा बडो अजिब लाग्ने खालको छ। अहिले ति ओझेलमा परेका छन्। मणिमुकुन्द उद्यानमा बार्षिक ५ लाख मान्छेहरु आउने गर्दछन््। त्यसको उत्तर तर्फ सिद्धार्थ केबलकार सञ्चालन हुन लागेको छ। यो बिचमा हामीले होमस्टे सञ्चालन गर्न सकेमा फेरी पुरानो बटौली नयाँ ताजगी बनेर आउन सक्छ। फूलबारीसँगै जितगढी र बटौलीको पर्यटकीय विकासका लागि पहल गर्छु।

    लुम्बिनी पछि धेरै पर्यटक आउने ठाउँ फूलबारी हो । फूलबारीसँग बुटवलका अन्य पर्यटकिय स्थलहरुलाई कसरी जोड्न सकिन्छ?
    हामीकहाँ गन्तव्य पहिचान गरेर प्वाइन्टहरुमा घुम्न जाने व्यवस्था मिलाउनुपर्ने हुन्छ। हाम्रो ठाउँमा अहिलेसम्म गाइडहरु प्रसस्त मात्रामा छैनन् । भारततिर हामी कुनै मन्दिरमा गइयो भने त्यो मन्दिरको व्याख्या विश्लेषण यती धेरै गरेका हुन्छन् । त्यो हेर्दै बडो आनन्द लाग्दो र नजाउँ भनेको ठाउँमा पनि जाँउ–जाउँ लाग्ने हुन्छ। यी सबै सम्पदालाई जोड्नको निम्ती हामीले प्याकेज कार्यक्रम बनाउनुपर्छ । तीनदिने, पाँचदिने र सातदिने प्याकेज कार्यक्रम बनाएर टुर गाइडहरु उत्पादन गरेर यो क्षेत्रमा जतिपनि सम्पदाहरु छन्, तिनको बारेमा आएका बाहय पर्यटकहरुलाई जानकारी दिएर जाम जाम भन्ने खालको वातावरण सिर्जना गर्नुपर्छ।

    भारतबाट आउने पर्यटकहरुको लागि सिद्धबाबा, त्यस पल्तीर रहेको छहरो र कुहिरभिरमा रमाउने गरेका छन्। तर हामीले व्यापकता दिन सकेका छैनौं। पर्यटन विशाल उद्योग हो। यो उद्योगमा फल झट्ट लाग्दैन फल लाग्नको लागि केही वर्ष लाग्छ। पर्यटनसँग चासो राख्ने मान्छेहरु यसमा अन्त्यन्त मिहेनतपूर्वक लागिरहनुपर्छ। तर यसभित्र जब फल लाग्छ छोरा, नाती, पनाती, खनाती पुस्तौ पुस्तासम्म पनि त्यहाँ उत्पादन भएको फल टिपेर भ्याउँदैनन्। सबैभन्दा पहिले हामीले जनतालाई यसरी बुझाउन सक्नुपर्छ।

    तपाईले विगतमा होटल व्यवसायीहरुको नेतृत्व पनि लिनुभयो। अन्तराष्ट्रिय विमानस्थल र लुम्बिनीलाई हेरेर थुप्रो होटलहरु रुपन्देहीमा खुलेका छन्। अन्तराष्ट्रिय विमानस्थल राम्रोसँग चल्न सकेको छैन। अबे होटल व्यवसाय कत्तीको आशालाग्दो देख्नुहुन्छ?
    अहिले होटल व्यवसायीहरुको अवस्था एकदम दयनिय छ। सबै भन्दा पहिला होटल व्यवसायलाई संकटको खाडलबाट माथि ल्याउनलाई सरकारले नीतिमा परिवर्तन गर्नुपर्छ। नयाँ नीति ल्याउनुपर्छ। दोस्रो कुरा अन्तराष्ट्रिय विमानस्थल र अन्तराष्ट्रिय स्तरको सभाहल पनि निर्माण भयो। यी दुई पूर्वाधार निर्माण हुँदै गर्दा व्यवसायीहरुले होटल क्षेत्रमा अत्यन्त धेरै लगानी गरेकाछन्। जसरी सभाहल र अन्तराष्ट्रिय विमानस्थल चल्नुपर्ने हो चलेको छैन। दुबै राम्रोसँग नचल्दा लगानी गरेका मान्छेहरु अहिले निरुत्साहीत भएको अवस्था छ।

    यसलाई राज्यले गम्भीर भएर सोच्नुपर्छ यथासिघ्र अन्तराष्ट्रिय विमानस्थललाई सञ्चालनको प्रक्रियामा लैजानुपर्छ। सञ्चालनको लागि राष्ट्रिय समस्या हो भने राष्ट्रिय रुपमा हल गर्नुपर्यो। अन्तराष्ट्रिय समस्या हो भने कुटनैतिक विधि प्रक्रियाबाट यथासिघै पहल गर्नुपर्छ। होइन भने ५० प्रतिसत हा्टलहरु विस्थापित भएर जान सक्ने सम्भावना छ।

    मणीमुकुन्द सेन उद्यान संरक्षण समितिमा यहाँ अध्यक्ष भइरहँदा कार्यकाल सकिने बेला उद्यानको अवस्था कस्तो होला। यस बाहेक रुपन्देहीको पर्यटकिय विकासमा यहाँको पहल के हुन्छ?
    सबै भन्दा पहिला मेरो ब्रम्ह, बुद्धि, क्षमता कला, कौशलता सबै कुरा मैले फूलबारीमा खन्याउँछु। पर्यटन क्षेत्रसँग सम्बन्धित सबैको राय सल्लाह सुझाब लिएर फूलबारीलाई अझ धेरै आन्तरिक र बाहय पर्यटकको आकर्षणको केन्द्र विन्दु बनाउन मैले के गर्नुपर्छ त्यसरी लाग्ने छु।

    दोस्रो पाटो अहिले बुटवलको अवस्था कम्जोर भएको छ। पर्यटक आवागमन एकदम कमि छ। बसन्तपुरमा एउटा केबल कार गएको छ । अर्को सिद्धार्थकेबलकार नुवाकोटमा जाँदै छ।अब साँच्चीकै आन्तरिक बाहय पर्यटकलाई स्वात्तै बुटवलमा तान्ने हो र यो ठाउँलाई गुल्जार बनाउने हो भने सिद्धबाबा भन्दा पल्तीर गड्डा हाइट भन्ने छ। गड्डाहाइटबाट नुवाकोटसम्म जोड्ने अर्को केबलकार राज्यको तर्फबाट गर्दिनुपर्छ।

    यसो गर्न सक्यो भने बुटवलमा प्रसस्तमात्रामा आन्तरिक बाहय पर्यटक आउँथे। यसको लागि मैले राज्य स्तरमा यो कुरा घच्घचाइरहेको छु। एकैपटकमा तीनवटा केवलकार चढ्न सक्ने स्थान कहाँ हो भन्दा बुटवल भन्ने सन्देश दिन सक्यो भने लुम्बिनी आएका पर्यटक समेत एक पटक बुटवल आउने सम्भावना रहन्छ। इतिहासबिदहरुले भनेका कुरालाई आधार मान्दा नुवाकोट राजा शुद्धोधनका गुरु ऋषि कालदेवल अषतोषको आश्रमस्थल पनि हो। त्यसैले लुम्बिनी र नुवाकोटसमेतलाई जोडेर पर्यटकीय विकास गर्न सकिन्छ। हामीले कल्पना गरे जस्तो भोलीका दिनमा यहाँको पर्यटन प्रवद्र्धन हुन सक्छ भन्ने विश्वास मैले लिएको छु।