२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • पर्यटकीय स्थल नरपानीमा वृक्षारोपण

    सन्धिखर्क-अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण र सरसफाइ गरिएको छ। नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसका अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको सङ्गठनका जिल्ला अध्यक्ष गणेश भण्डारीले बताए।

    नरपानी चिसो हावा पानीले पानीले प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्य देख्न पाइने हुँदा तराईबाट धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

    पार्कलाई सफा र चिटिक्क पार्ने उद्देश्यले विभिन्न प्रजातिका फूल तथा अन्य बिरुवा रोपिएको सङ्गठनका जिल्ला कोषाध्यक्ष विशाल महतले जानकारी दिए। । उनले नरपानीमा थप पर्यटक आकर्षित गर्नका लागि पार्क थप व्यवस्थित बनाउन लागिएको बताए।

    पिकनिकस्थलका रुपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिकरुपमा हजारौँ मानिस आउने गरेका छन् । महेन्द्र राजमार्गमा पर्ने कपिलवस्तुको गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा पुग्न सकिन्छ ।

    गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा पर्ने सो क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको छ। प्रसिद्ध सुपा देउराली मन्दिर नजिक पर्ने नरपानी बनभोजका लागि पनि प्रसिद्ध छ। सुपा देउराली मन्दिर दर्शन गर्न जानेहरु अधिकांश नरपानी पुग्ने गरेका छन् ।