२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • लुम्बिनीमा कमल फूल आकारमा भारतीय विहारको निर्माण शुरु

    लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती र सम्पदा केन्द्र ( विहार)को निर्माण शुरु भएको छ। लुम्बिनीस्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघको लगानीमा भारतीय बौद्ध सस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको हो। २०७९ सालको बुद्ध जयन्तीमा लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त रुपमा भारतीय विहारको शिलान्यास गरेका थिए।

    आईतबार बौद्ध परम्परा अनुसार पूजा र भिक्षुभिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरि विहारको निर्माण थालिएको छ। भूमिपुजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज)ले अन्तर्राष्ट्रिय स्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको भन्दै यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाईमा पु¥याउने बताए । उनले नेपाल र भारविचको सम्बन्ध दुई छिमेकी देशका रुपमा मात्र सिमित नभई भगवान गौतमबुद्धका कारण हजारौं बर्षअघिदेखि नै साँस्कृतिक रुपमा जोडिएको उल्लेख गरे।बुद्ध जीवनका चारधाममध्ये एक बुद्धजन्मस्थल लुम्बिनी र बाँकी ३ धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतविच सहकार्य आवश्यक रहेको भट्टराईको भनाइ छ।

    लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीमा भारतको उपस्थिती हुनु निकै राम्रो भएको बताए । उनले अन्तराष्ट्रिय स्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रवद्र्धन हुने उल्लेख गरे। अन्तराष्ट्रिय बुद्धिष्ट परिसंघका महासचिव डा. भिक्षु धम्मपियाले लुम्बिनीमा बौद्ध सस्कृती र सम्पदाको प्रवद्र्धनका लागि आधुनिक केन्द्र बनाउन शुरु भएको दिन निकै महत्वपूर्ण रहेको बताए। उनले बुद्धको लुम्बिनीमा जन्म भएपनि बुद्धले ध्यान गरि ज्ञान प्राप्त गरेको बोद्धगया, पहिलोपटक धर्मदेशना गरेको सारनाथ, महापरिनिर्वाण गरेको कुशिनगर भारतमा रहेकाले यी दुई देशविच सुमधुर सम्बन्ध रहेको बताए।

    जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाईन गरिएको विहार १ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने छ । कोषका योजना प्रमुख सरोज भट्टराईले जिरो नेट प्रविधि अर्थात बाहिरी विजुली नै आवश्यक नपर्ने गरि आधुनिक विहार भवन निर्माण हुने जानकारी दिए । एसिसि इन्डिया र गोर्खा विल्डर्स जेवीले आगामि १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरि सम्झौता गरेको छ ।

    भूमी पुजा कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्य, विभिन्न स्थानीय तहका प्रमुख, कोषका बोर्ड सदस्यहरु, अखिल नेपाल भिक्षु महासंघका महास्थविर, विभिन्न देशका भिक्षु भिक्षुणी, उपासक, उपासिका लगायतको उपस्थिती रहेको थियो।