२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • लुम्बिनीको पर्यटन हेर्ने मन्त्रालय साढे ३ महिनादेखी मन्त्रीविहीन

    दैनिक कामकाजमा मन्त्रीलाई जस्तो मुख्यमन्त्रीलाई सहज हुँदैन


    बुटवल -लुम्बिनी प्रदेश सरकारको पर्यटन हेर्ने मन्त्रालय साढे ३ महिनादेखी मन्त्रीविहीन छ। बैशाख ११ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि नेकपा एमालेका लिला गिरि मुख्यमन्त्रीबाट पदमुक्त भए। बैशाख १४ गते कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भए। चौधरी मुख्यमन्त्री बनेको साढे ३ महिना हुँदा पनि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले विभागिय मन्त्री पाउन सकेको छैन।

    उद्योग, पर्यटन मन्त्रालय सहित खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त हुन नसकेको हो। यी ३ वटै मन्त्रालय अहिले मुख्यमन्त्री चौधरी आँफैले हेरेका छन्।

    मन्त्रालयको दैनिक काम काज गर्न विभागिय मन्त्री जस्तो मुख्यमन्त्रीलाई सहज हुँदैन। विभागिय मन्त्रीलाई पर्यटन क्षेत्रमा मात्र केन्द्रीत हुन, कानून तर्जुमा, कार्यक्रम कार्यान्वयनमा सजिलो हुन्छ। त्यस्तै पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागी हुन र गुनासा सुन्न पनि सजिलो हुने गर्दथ्यो। तर मुख्यमन्त्री त्यसरी पर्यटनका धेरै कार्यक्रममा सहभागी हुन, एउटै विषयमा केन्द्रीत भएर काम गर्न असहज हुन्छ। मन्त्रालयका कर्मचारीहरुले पनि मन्त्रीसँग जस्तो सजिलै मुख्यमन्त्रीसँग भेट गर्न पाउँदैनन्।

    पर्यटन व्यवसायी र अन्य सरोकारवालाहरुले पनि मन्त्रीसँग जस्तो समन्वय र भेटघाट गर्न मुख्यमन्त्रीसँग गाह्रो हुन्छ। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले विभागीय मन्त्री नहुँदा प्रदेशमा पर्यटन मन्त्रालय भएको आभास कम हुने बताइन्। ‘विभागिय मन्त्री नहुँदा पर्यटनको विषयमा हामीले सरकारसँग धेरै छलफल गर्न र आफ्नो कुरा राख्न पाउँदैनौ। मन्त्री नहुँदा सचिव लगायत कर्मचारीहरुमा पनि अलमल हुन्छ।’ उनले भनिन् ‘मुख्यमन्त्रीज्युसँग हामीले दुई पटक भेट गरिसकेका छौं। पर्यटनको कुरामा चासो दिएर प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँ सबैतिर हेर्नुपर्ने हुँदा हामीले चाहेको बेला भेट गर्न गाह्रो हुन्छ।’

    सोसाइटी अफ ट्राभल एन्ड टुर्स अप्रेटर नेपाल सोट्टोका लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताले पछिल्लो समय प्रदेश सरकारसँगको भेटघाट कम भएको सुनाए।’ विगतमा हाम्रो प्रदेश सरकारसँग भेटघाट भइरहन्थ्यो। अहिले राजधानी पनि सरेको र सरकार पनि फेरबदल भइरहेको छ।’ उनले भने ‘विभागीय मन्त्री नहुँदा पनि सरकारसँगको भेटघाट र समन्वय कम भएको होला।’

    प्रदेशको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका पर्यटन महाशाखा प्रमुख डिल्लीराज बेलबासे मन्त्रालयको काममा खासै ठूलो अफ्ठ्रो नपरेको बताए। बेलबासेले मख्यमन्त्रीले पर्यटन क्षेत्रलाई महत्व दिएको सुनाए। ‘उहाँ आँफू पनि पहिले विभागिय मन्त्री हुनुभएको हो। पर्यटनसँग सम्बद्ध विषयमा मुख्यमन्त्रीज्यूको रुचि धेरै छ।’ उनले भने ‘अरु कार्यक्रम पोष्टपेन्ड गरेर भएपनि पर्यटनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुने गर्नुभएको छ। उहाँको भिजन पनि छ। पर्यटनको विकासलाई रोजगारी सिर्जनासँग जोड्न खोजिरहेको छु भन्नुहुन्छ।’

    आर्थिक वर्षको सुरु भएकाले तत्काल अफ्ठ्यारो नभएको र बजेट कार्यान्वयन गर्ने बेलामा विभागीय मन्त्री आउने मन्त्रालयले आशा राखेको बेलबासेले बताए।