२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालद्वारा संयुक्त रुपमा ‘हस्पिटालिटी र टुरिजम’ कक्षा सञ्चालन


    बुटवल – लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले स्नातक तहमा संयुक्त रुपमा हस्पिटालिटी एण्ड टुरिजम विषयको कार्यक्रम सुरु गरेका छन्। दुई विश्वविद्यालयको संयुक्त डिग्रीको कक्षा सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा गर्ने भएको हो।

    संयुक्त शैक्षिक कार्यक्रमको घोषणा गर्दै शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पर्यटन विषयमा दक्ष जनशक्ति उत्पादनका लागि दुई विश्वविद्यालयले शुरु गरेको कार्यक्रम कोशेढुंगा सावित हुने बताइन्। ‘बुद्ध शिक्षा र पर्यटन एक आपसमा परिपुरक छन, बौद्ध विश्वविद्यालयले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि शिक्षा क्षेत्रबाट महत्वपूर्ण योगदान गर्नुपर्छ। उनले भनिन्।

    बौद्ध दर्शन र पर्यटनलाई जोडेर शैक्षिक जनशक्ति उत्पादन गर्दा मुलुकको पर्यटन विकासमा ठूलो उपलब्धी हासिल राज्यमन्त्री प्रमिलाको भनाइ छ। उच्च शिक्षाको गुणस्तरीयताका लागि विश्वविद्यालयहरुले विशेष ध्यान दिनुपर्ने भन्दै उनले अन्तर्राष्ट्यि प्रतिष्पर्धी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनले बताइन्। शिक्षा सुधारका लागि शिक्षा ऐन संसदमा आउन लागिरहेको भन्दै उनले ऐन जारी भएपछि शिक्षामा आमुल सुधार हुने विश्वास गरिन्।

    कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टार डा. तिलकराम आचार्यले काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनका लागि यो कार्यक्रम शुरु गरिएको बताए। गत असार २१ गते सहकार्य सम्झौता भई एक महिनाभित्रमै शैक्षिक कार्यक्रम सार्वजनिक गरिएको भन्दै यस कार्यक्रमलाई सफल बनाउने दायित्व सबैको रहेकोमा उनले जोड दिए।

    आचार्यले विश्वविद्यालयका सभाहरु समेत समयमा हुन नसक्दा महत्वपूर्ण कार्यहरु अलपत्र पर्ने अवस्था आउन नहुने बताए। ‘राज्यका नेतृत्वकर्ता र विश्वविद्यालयका पदाधिकारीहरु उच्च शिक्षाको विकासमा तत्पर भएर जुट्नुपर्छ। सबैमा जिम्मेवारबोध हुनुपर्छ, उनले भने, एकल प्रयासमा शिक्षा क्षेत्रका समस्याहरु समाधान हुन सक्दैनन्।

    काठमाडौं विश्वविद्यालयका विषय समिति अध्यक्ष उज्ज्वल सत्यालले विश्वविद्यालयहरु खाली भइरहने अवस्था आएको भन्दै अव सीपयुक्त जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताए। यो शैक्षिक कार्यक्रमले बजारको आवश्यकतालाई पूर्ति गर्ने विश्वास व्यक्त गरे। ‘हाम्रा विश्वविद्यालयहरुमा पनि अन्तर्राष्टिय अभ्यास हुनुपर्छ, उनले भने ‘हस्पिटालिटी र टुरिजम पढाउनका लागि नेपाल आउने वातावरण बनाउनुपर्छ। त्यसले यहाको पर्यटन विकासमा टेवा पुग्नेछ।’
    लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुले विश्वविद्यालयहरुबीच

    टिमवर्कमा कार्य गर्नु आवश्यकता रहेकाले काठमाण्डौं विश्वविद्यालयसंग सहकार्यमा शैक्षिक कार्यक्रम शुरु गरिएको बताए। शैक्षिक कार्यक्रम सञ्चालनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयसंग निरन्तर सहकार्य भइरहने उनले बताए ।

    कार्यक्रममा पोखरा पर्यटन परिषद्का दिपेन्द्र पहारी, लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका प्रमुख फणीन्द्रकुमार न्यौपाने, उपप्राध्यापक डा. दिपकप्रसाद आचार्य लगायतले बालेका थिए। कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय टुरिजम विषय समितिका अध्यक्ष श्रीप्रसाद भट्टराईले हस्पिटालिटी र टुरिजम विषयको विषयमा जानकारी गराएका थिए।

    नया कार्यक्रममा यसै शैक्षिक सत्रबाट भर्ना शुरु गरिने जनाइएको छ। बुटवलको सिटी क्याम्पसमा पठनपाठन हुने दुई विश्वविद्यालयबीच सहमति भएको छ।