२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • काठमाडौँमा कोषको सम्पर्क कार्यालय खोल्ने प्रस्तावको स्थानिय स्तरमा विरोध


    लुम्बिनी-काठमाडौँमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय खोल्ने प्रस्तावको विरोध भएको छ। शुक्रबार कोषका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र योजना प्रमुखको उपस्थितिमा बसको सचिवालय बैठकले काठमाडौँमा कोषको सम्पर्क कार्यालय खोल्ने प्रस्ताव गरेको थियो।

    सम्पर्क कार्यालय स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद बैठकमा प्रस्ताव पेश गर्ने निर्णय सार्वजनिक भएपछि आलोचना सुरु भएको हो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आज विज्ञप्ती जारी गर्दै निर्णय नसच्याए सरोकारवालाहरु विरोधमा उत्रने जनाएको छ।

    सम्पर्क कार्यालयको निर्णयले लुम्बिनीलाई अन्योलमा पार्न खोजिएको संघको आरोप छ। काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरी विगतमा पनि लुम्बिनीलाई ओझेलमा पार्ने प्रयास नभएको होइन, अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने, ‘लुम्बिनीको विकास र हित चाहने हो भने लुम्बिनीलेखि बाहिर अन्यत्र कुनै स्थानमा लुम्बिनीको नाममा सम्पर्क कार्यालय वा कुनै नामका कार्यालय खोलिनु हुँदैन ।

    विगतमा पनि लुम्बिनी विकास कोषको काठमाडौँमा सम्पर्क कार्यालय रहेको थियो। आनन्दप्रसाद पोखरेल पर्यटन मन्त्री हुँदा सम्पर्क कार्यालय खारेज गरिएको थियो।