२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • उपाध्यक्ष लामाले गरे काठमाडौँमा कोषको सम्पर्क कार्यालय नराख्ने प्रतिबद्धता


    लुम्बिनी – लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले काठमाडौँमा सम्पर्क कार्यालय नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लुम्बिनी विकास कोषको काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रस्तावको निर्णयमा तिब्र विरोध भएपछि लामाले सो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

    शुक्रबार कोषका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र योजना प्रमुखको उपस्थितिमा बसको सचिवालय बैठकले काठमाडौँमा कोषको सम्पर्क कार्यालय खोल्ने प्रस्ताव गरेको थियो। सो प्रस्ताव सार्वजनिक भएपछि रुपन्देहीका उद्योगी व्यवसायी र नागरिक तहबाट विरोध भएको थियो ।

    विरोध भएपछि लामाले शनिवार विज्ञप्ती जारी गरि कोषको कार्यालय काठमाडौँमा नराख्ने स्पष्ट पारेका हुन्। ‘सम्पर्क कार्यालय काठमाडौँ राख्ने भन्ने निर्णय पुरानो निर्णय भएको र उक्त सदर गरिएको निर्णयलाई पुनर्विचार गरि लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा नराख्ने प्रतिबद्धता जाहेर गर्न चाहान्छौं।’ उपाध्यक्षद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

    लामाले आम लुम्बिनीबासी, बुद्धिजिबी, पत्रकार एवं व्यवसायी लगायतले राखेको चासो र चिन्ताप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। उनले यस क्षेत्र र समुदायलाई अनुकुल तथा हित हुने कार्यको विशेष रुपमा सम्बोधन गर्ने आफ्नो कर्तव्य भएको बताए।