२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • सिल्भर हेरिटेजलाई थिचेको गह्रुंगो भारी उचाल्ला त हिमालय टाइगरले ?

    सार्वजनिक जग्गाको सट्टा भर्ना अदालतले नमाने लिजमा भए पनि लिन तयार

    भैरहवा-रुपन्देहीको पहिलो पाँच तारे होटलको रुपमा केही वर्ष अघि भैरहवा नजिक टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आयो। तिलोत्तमा नगरपालिकामा रहेको रिसोर्टले केही वर्षमा अरु व्यवसायले जस्तै कोभिडको सामना गर्नुपर्यो। त्यस बाहेक कहिले आन्तरिक विवाद, कहिले स्थानिय सँगको विवादको सामना गर्नुपर्यो।

    सार्वजनिक जग्गा, कुलो मिचेको विवाद त अदालतसम्म पुग्यो। मिचीएको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालतले आदेश गर्यो। विभिन्न खालका विवादले टाइगर प्यालेस संकटमा पर्दै गयो। पाँचतारे रिसोर्टको क्यासीनो बन्द भयो। अरु सेवा पनि राम्रोसँग सुचारु हुन सकेन। चल्न नसकेर करोडौ घाटा बेहोरेपछि टाइगर प्यालेसको लगानीकर्ता अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले आफ्नो व्यवसाय विक्रि गर्न ठूलो कसरथ गर्यो। अदालती प्रक्रियाले विक्रि गर्न पनि सहज थिएन।

    अन्ततः मुलुबाहिर कारोबार भएर टाइगर प्यालेस विक्रि भयो। अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सञ्चालन गर्दै आएको रिसोर्टलाई हालै हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले खरिद गरेको हो। हिमालयन टाइगर गैरआवासिय नेपालीहरुले अमेरिकामा स्थापना गरेको कम्पनी हो।

    टाइगर प्यालेश रिसोर्ट किनेपछि शुक्रबार तिलोत्तमा स्थित रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गर्यो। सम्मेलनमा हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले टाइगर प्यालेस आफूहरुले खरिद गरेको औपचारिक जानकारी गरायो। साथै उठेका विवादका सम्बन्धमा आफ्ना प्रतिक्रियाहरु समेत व्यक्त गर्यो। सो कम्पनीका अध्यक्ष अध्यक्ष बुद्धिसागर सुवेदीले आफूहरु असल नियतका साथ बन्द हुन लागेको रिसोर्ट सञ्चालन गर्न आएको बताए। उनले कमाएर अमेरिका लैजान नभइ पर्यटन क्षेत्रको विकासको लागि लगानी गरेको दाबी गरे।

    सुवेदीले जन्मभूमिप्रतिको दायित्वलाई बोध गरेर बन्द हुन लागेको रिसोर्टर्ला खरिद गरेको सुनाए। ‘पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योग धरासायी हुने बाटोतर्पm उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानी कर्ताको लागि सुखद होइन।’ उनले भने ‘अवसरका लागि विदेसीएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्व बोध गरि बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका हौं।’ गैरआवासीय नेपालीहरुले यो रिसोर्ट मार्फत पर्यटन क्षेत्रको विकासमा एउटा इट्टा थप्न चाहेको सुवेदीको भनाइ छ।

    सुवेदी गैर आवसीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष हुन्। हिमालयन इन्भेष्टमेन्ट टाइगर इंकमा सुवेदीसहित दिपक गौतम, कुल आचार्य, देब भुसाल, रामजी मरासीनी लगायतको लगानी छ।उनीहरुले हिमालयन टाइगरले १५ मिलियन अमेरिकी डलर अर्थात करिब २ अर्बमा खरिद गरेको जानकारी गराइएको थियो।

    रिसोर्टमा भएको बैंक लगानीको दायित्व, तिर्नुपर्ने कर, थप लगानी गर्नुपर्ने पर्दा सेयर खरिद समेतलाई जोड्दा ४ अर्ब जति खर्च हुने अर्का सञ्चालक दिपक दत्त गौतमले बताए।रिसोर्ट बन्द हुने अवस्थामा पुग्दा नेपालमा बैदेशिक लगानीको वातावरण नभएको भनेर विदेशमा सन्देश जाने भएकाले आफूहरुले होटलको सबै सेयर खरिद गरेको उनको भनाइ छ।

    अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेजलाई टाइगर प्यालेस निकै भारी भएको थियो। लामोसमय सम्म उ भारीले थिचिएर उठ्न सकेको थिएन। अब भने यो भारी हिमालयन टाइगरको थाप्लोमा आएको छ। उसले त्यो गह्रुंगो भारी उचालेर हिडाल्ने प्रयास गरेको छ।

    टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएपछि स्थानियबासीबीच पनि रिसोर्टको विबाद भएको थियो। अब स्थानियसँग समुदायसँग समन्वय गरेर काम गर्ने नयाँ व्यवस्थापनले जनाएको छ। रिसोर्टले सरकारी जग्गा, कुलो मिचेको भन्दै अदालतमा मुद्दा समेत परेको छ । पत्रकार सम्मेलनमा सुवेदीले जग्गाको विषय पनि समाधान हुने बताए। ‘रिसोर्ट निर्माण अगावै सरकारी जग्गा कुलो, नहर बापत १६ कठ्ठा जग्गा सट्टा भर्ना गरि उपलब्ध गराउने सहमती छ।’ उनले भने ‘अदालतले सट्टा भर्नाको सहमतीलाई नमान्ने फैसला गरेमा भने हामीले सो जग्गा लिजमा लिन लिएर भएपनि व्यवसायलाई अघि बढाउँछौं।’

    अमेरिकामा खडा गरिएको कम्पनीले अष्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भएपनि नेपालमा कुनै करको दायित्व सिर्जना भएमा कानून बमोजिम लाग्न सक्ने कर म्याद भित्रै तिर्ने हिमालय टाइगरले प्रतिबद्धता व्यक्त गरेको छ। मुद्दामामिलाका कारण स्वदेसी लगानीकर्ताले रिसोर्ट किन्न नसकेको विदेशीमा पनि गलत सन्देश गएका कारण नेपालप्रतिको माया भएर विदेशमा बस्ने आँफूहरुले आँट गरेर रिसोर्ट खरिद गरेको सुवेदीले बताए। भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएकाले विदेशी पर्यटक ल्याएर बुटवल भैरहवा करिडोरमा व्यवसायीक क्रियाकलाप अभिबृद्धि हुने विश्वास आफूहरुले लिएको पत्रकार सम्मेलनमा बताइएको थियो।