२०८१ आश्विन २१ गते, सोमबार ०९:१८
  • यी हुन तिनाउ गाउँपालिकाका मुख्य पर्यटकीय मार्ग


    पाल्पा-पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट हरियाली हुँदै ज्यामिरेसम्म पर्यटकीय मार्ग निर्माण भइरहेको छ। संघिय सरकारको समपुरक बजेटबाट यो पर्यटकिय मार्ग निर्माण गरिएको हो। यो सडकमा अहिले नाली बनाउने काम हुने गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले बताए। ‘पहिले नै खुलेको सडक हो। यहाँ नालीहरु बनाउने काम गर्दै छौं। एउटा पहरो छ। पहरो फोरेर हरियालीसम्म नाली र ग्राभेल गर्ने गरि तत्कालको लागि काम अघि बढेको छ।’ उनले भने।

    नुवाकोटबाट हरियालीसम्म १० किलोमिटर पर्दछ। बेलबास नुवाकोटको सडकलाई छोडेर नुवाकोटबाट अर्को बाटो हरियाली पुगिन्छ। यो सडकमा तराइको दृष्य हेर्दै हिड्न सकिने अर्यालले बताए। हरियाली हुँदै यो सडक पछि बुटवलको तामनगर नजिक ज्यामिरे निकाल्ने योजना छ।

    त्यसै गरि प्रदेश सरकारको समपुरक अन्तर्गत गोरबन्दी सत्यवती लगाड गिजनचौर पर्यटकीय सडक स्तरोन्नतीको लागि ५० लाख रुपैया विनियोजन भएको छ। सत्यवती मन्दिर जाने यो सडकमा हिउँदमा गाडी चल्ने गर्दछ । तर बर्खायाममा चलेको छैन। सडकबाहेक पुल निर्माणको लागि पनि ठेक्का लागेको छ।

    गाउँपालिकाको बजेटबाटै चर्चरे, मरामकोट, जन्तीलुङ पर्यटकीय मार्ग स्तरोन्नतीको काम भइरहको छ। यो सडकको लागि पालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ। केराबारीबाट माथि चर्चरेबाट जन्तिलुङ जान सकिन्छ। जन्तीलुङमा पछिल्लो समय पर्यटकीय चहलपहल बढ्न थालेको छ।