२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • कपिलबस्तु पुगेर उपाध्यक्ष लामाले भने: आगामी महिनाबाट हजारौं बौद्धमार्गी भित्र्याउने

    लुम्बिनी-लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामाले शुक्रबार कपिलबस्तुका बुद्धस्थलहरुको भ्रमण गरेका छन। उनले बुद्धले २९ वर्ष बिताएको प्राचिन तिलौराकोट दरबार क्षेत्रको अवलोकन गरे। बुद्धको जीवनमा निकै महत्वपूर्ण स्थलका रुपमा रहेको तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृतको तयारीमा रहेको भन्दै लामाले यसलाई पर्यटकमैत्री बनाउने तर्फ ध्यान दिने बताए।

    लामाले यहाँ तीर्थालुहरुलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तिलौराकोट दरबारमा तत्तकाल दुवै साईडमा रहेका झाडी, बुट्यानहरुको सरसफाई, ध्यान तथा पूजा स्थल बनाउनका लागि पहल गर्ने बताए ।

    डा। लामाले विश्वभरका बौद्धमार्गीहरुलाई एकपटक लुम्बिनीसँगै तिलौराकोट र रामग्राम लगायतका बृहत्तर लुम्बिनी क्षेत्रमा भ्रमणका लागि अनुरोध गरे। उनले बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किटको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरि आगामी महिना देखी हजारौं धार्मिक पर्यटकहरु भित्राउन सुरु गर्ने बताए ।

    ‘म भर्खर आएको छु, पहिले यहाँको अवस्थाबारे जानकारी लिदै छु’ उपाध्यक्ष लामाले भने –‘स्थानीय, अगुवाहरु, पत्रकारहरुको सुझावका आधारमा बुद्धजन्मस्थल सहितका क्षेत्रहरुको विकास गर्नेछु ।’ उनले आफू परिणामुखी काम गर्ने गरी जिम्मेवारी समालेको उल्लेख गरे।

    उपाध्यक्ष डा।लामा सहितको टोजीले कपिलवस्तुको तिलौराकोटसँगै कुदान, गोटीहवा, सगरहवा, निलिहवा, अरुणकोट, सिसनिया र जगदीशपुरता लगायत स्थानहरूको अबलोकन तथा निरीक्षण गरेको छ। सो अवसरमा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले प्राचिन कपिलबस्तु, तिलौराकोट दरबार र कपिलबस्तुका बौद्धस्थलहरुका बारेमा जानकारी गराएका थिए।

    निरीक्षणमा कोषका परिषद सदस्य गोपी कृष्ण शर्मा, तिलौराकोट इकाका माधवप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो। यसअघि बिहीबार उपाध्यक्ष डा।लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण गरेका थिए ।