२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • अर्घाखाँचीको आकर्षक गन्तव्य बन्न सक्ने १३ तले ‘आकाशदेवी’

    अर्घाखाँची– अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जिल्लाकै अग्लो मन्दिर छ। छत्रदेव–७ बाहिगाउँ ताराखसेमा रहेको श्री आकाशदेवी मन्दिरको उचाइ १३ तला अग्लो छ। २००८ सालमा स्थापना भएको यो मन्दिरलाई हाल पुनः निर्माण गरिएको हो। मन्दिरमा देवीको मूर्तिका साथै शिव, गणेश तथा नागको मूर्ति रहेका छन्। आकाशदेवीमा तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठुलो मेला लाग्ने गरेको छ।

    धार्मिकसँगै यो मन्दिर ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण छ। किम्बदन्ती अनुसार परापुर्वकालमा उल्कापात हुँदा सो स्थानमा एउटा प्राकृतिक पोखरीको स्थापना भएको थियो। सोही उल्काको एउटा टुक्रा केही तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो। त्यसैले यो ठाउँको नाम ताराखसे रहेको भनाइ छ।

    अर्को पोखरीलाई चुरनपोखरी नामकरण गरिएको बताइन्छ। तर पनि हाल यो पोखरी भेटिँदैन। यति ठुलो महत्व बोकेको पोखरी पुरिएको छ। ताराखसे पोखरीको उत्तर पूर्वमा परापूर्व कालदेखिको एउटा गाज रहेको छ, जहाँ नाग भगवानको स्थापना भएको छ। नाग देवताले रगतको बलि नखाने हुँदा पोखरीमा बलीको रगत भने पारिँदैन। यो गाजमा ठुलो दैविक शक्ति रहेको मान्यता स्थानीयहरूमा छ।

    उहिले दुर्गापुजाको समयमा नाग भएको स्थानमा धिपधिप बत्ती बलेको देखिएपछि धर्मागत न्यौपाने, देउदत्त न्यौपाने, टिका न्यौपानेका सन्तानले पूजा गर्ने, नयाँ अन्नबाली भित्र्याउँदा उक्त स्थानमा चढाउने गरेको थिए। त्यसबेलादेखि यहाँ पूजाको सुरुवात गरेको पाइन्छ। पछि धर्मागत न्यौपाने र रेणु पाण्डेको अगुवाइमा गाउँको सहयोगमा खरको छानो भएको कोट निर्माण गरी पूजाको सुरुवात भएको स्थानीयहरूको भनाइ छ।

    ओझेलमा आकाशदेवी
    छुट्टै पहिचान र महत्व बोकेको आकाशदेवी मन्दिर उचित प्रचार प्रसार नहुँदा ओझेलमा छ। मन्दिरसम्म पुग्नको लागि यातायातको सहज पहुँच छैन। त्यसैले स्थानिय बाहेक बाहिरबाट खासै पर्यटकहरू पुग्दैनन्। पछिल्लो समयमा भने आकासदेवीको प्रचार प्रसारको लागि स्थानीय युवाहरू लागि परेका छन्।

    यहाँको प्रचार प्रसारको लागि दशैंसम्म विभिन्न कार्यक्रम गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डेयले बताए। मन्दिरको धार्मिक र ऐतिहासिकतालाई बाहिर ल्याउनको लागि स्थानीय युवाहरूको साथ सहयोग लिएर अघि बढिरहेको उनको भनाइ छ। स्थानीय युवा शोभाखर न्यौपानेले उचित प्रचार प्रसारको अभावमा मन्दिर ओझेलमा परेको बताए। मन्दिरको प्रचार र प्रवद्र्धनमा आफूहरू लागिरहेको भन्दै उनले सञ्चार माध्यमको पनि साथ आवश्यक रहेको उल्लेख गरे।

    मन्दिरका पूजारी विष्णु प्रसाद मरासिनीले आकाशदेवीको दर्शन गर्दा मनोकामना पुरा हुन्छ भन्ने विश्वास रहेको सुनाए। ‘जिल्लामै १३ तले मन्दिर बन्दा पनि धेरैलाई छैन। यो अनौठो कुरा हो। मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास स्थानियहरुमा छ।’ उनले भने। स्थानिय सुजन न्यौपानेले छत्रदेव भित्रका यस्ता धार्मिक एवम् ऐतिहासिक महत्वका स्थानहरूको संरक्षण र प्रचार प्रसारमा गाउँपालिकाले ध्यान दिनुपर्ने बताए।

    छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले आकाशदेवी छत्रदेवको मात्रै नभई सिङ्गो अर्घाखाँचीकै पहिचान भएको दाबी गरे। उनले मन्दिरको संरक्षण र व्यवस्थापनमा गाउँपालिकाले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष श्रेष्ठले पालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गाउँपालिकाको योजना रहेको सुनाए।