२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • भैरहवाबाटै दिल्ली र हङकङ उडानको लागि टिकट बुकिङ खुला

    नेपाल एयरलाइन्सले मंगलबारबाट नियमित उडान गर्ने

    भैरहवा – भैरहवाबाट दिल्ली र हङकङ उडानको लागि नेपाल बायुसेवा निगमले टिकट विक्रि खुल्ला गरेको छ। यही भदौ १२ गते मंगलबारबाट भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलदेखि दिल्ली र हङकङको लागि नियमित उडान सुरु हुँदै छ।

    अब हरेक हप्ताको मंगलबार भैरहवाबाट काठमाडौँ ट्रान्जिट बनाएर दुई मुलुकमा उडान हुने निगमका प्रवक्ता रमेशकुमार पौडेलले जानकारी दिए।

    तालिका अनुसार मंगलबार विहान सवा ८ बजे भैरहवाबाट उडेको निगमको जहाज काठमाडौँमा अवतरण गर्ने छ। त्यहाँबाट ट्रान्जिट भइ हङकङ जाने यात्रु सोही देशको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ उडानमा चढ्ने छन्। 

    यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

    निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी टिकट लिएर यात्रा गर्न सकिने निगमका प्रवक्ता पौडेलले बताए। साथै नजिकको ट्राभल एजेन्सीबाट पनि टिकट लिन सकिने छ। बजारको माग अनुसार भैरहवाबाट दुई गन्तव्यको लागि उडानको संख्या बढाउँदै लगिने योजना रहेको निगमले जनाएको छ।