२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • भैरहवाबाट हङकङ र दिल्लीको कति छ भाडादर? पहिलो ट्रान्जिटमा भएनन् यात्रु

    फाइल फोटो

    भैरहवा -भैरहवाबाट हङकङ र दिल्ली उडानको लागि टिकट विक्री खुल्ला गरिएको भए पनि आज दुबै देशमा जाने यात्रु नभएको नेपाल एयरलाइन्सले जनाएको छ। भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलदेखि काठमाडौँ ट्रान्जिट भएर हरेक मंगलबार दिल्ली र हङकङ नियमित उडान सुरु गर्ने नेपाल एयरलाइन्सले जनाएको थियो। जस अनुसार आजबाट नियमित उडान हुने भनिएको थियो।

    तर आज ट्रान्जिट भएर जाने यात्रु नआएको नेपाल एयरलाइन्सका गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले बताए। ‘टिकट बुकिङ त खुल्यो, तर यात्रुहरु आउनुभएको छैन। आज ट्रान्जिट निल नै छ।’ उनले भने ‘सायद प्रचार प्रसारको कमिले पनि होला। अर्को हप्ताबाट यात्रुहरु आउनुहुन्छ भन्ने आशा छ।’ नेपाल एयरलाइन्सले ट्रान्जिट उडानको लागि सोमबारबाट मात्र बुकिङ खुल्ला गरेको थियो। हङकङको उडानको बुकिङको लागि सिष्टमले देखाएपनि दिल्लीको लागि अनलाईन बुकिङ गर्न भाडा दर देखाएको थिएन।

    कति छ भैरहवाबाट हङकङ र दिल्लीको भाडादर
    काठमाडौँबाट हङकङ र दिल्लीको लागि जति भाडादर तोकिएको छ। त्यसमा २ हजार बढि भैरहवाबाट उडान हुँदा लाग्ने नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधव लोहोनीले बताए।

    भैरहवाबाट अर्को ट्रान्जिट उडान सेप्टेम्बर ५ अर्थात भदौ १९ गते हुने छ। सो दिनको लागि आजको मितिमा टिकट बुकिङ गर्दा काठमाडौँबाट हंङकङको लागि इकोनमी तर्फको भाडादर ५१ हजार ५५१ तोकिएको छ। त्यसमा २ हजार थप गर्दा ५३ हजार ५५१ भैरहवा- हङकङको भाडादर हुन आउँछ। विजनेस क्लास टिकटको १ लाख १ हजार १४ रुपैया छ। भैरहवाबाट उडान गर्दा यसमा पनि २ हजार थप भएर १ लाख ३ हजार १४ रुपैया हुने छ।

    सेप्टेम्बर ५ कै लागि काठमाडौँबाट दिल्ली उडान गर्दा इकोनमी क्लासको भाडादर ११ हजार २२७ रहेको छ। भैरहवाबाट काठमाडौँ ट्रान्जिट भएर उडान गर्दा १३ हजार २२७ रुपैया लाग्ने छ। हरेक मंगलबार विहान नेपाल एयरलाइन्सको जहाज मलेशियाको क्वालालाम्पुरबाट भैरहवा आएर काठमाडौँ जाने गर्दछ। भैरहवामा यात्रु झरेपछिको खाली सिटमा दिल्ली र हंङकङ जाने यात्रु राखिने नेपाल एयरलाइन्सले जनाएको छ।