२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न पर्यटन बोर्डको स्वीडिस सांसदहरुसँग आग्रह

    काठमाडौं-नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरुसँग आग्रह गरेको छ। नेपाल भ्रमणमा रहेको स्वीडिस सांसदहरुको टोलीसँग भएको भेटमा बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले दुवै देशबीच सहकार्यका लागि आग्रह गरे ।

    उनले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको कारण नेपालको युरोपसँग सिधा उडान हुन नसकेको र यसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेको बताए । त्यसबारे पहल गरिदिन रेग्मीले स्वीडिस सांसदहरुलाई आग्रह गरे।

    धेरै युरोपियन नेपालको साहसिक पर्यटनमा रमाउन नेपाल आउन चाहने भन्दै उनले सिधा हवाई सम्पर्कको अभावका कारण त्यो हुन नसकेको उनले बताए

    भेटमा स्वीडेनका सांसद मारिया स्टोकाउजले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको बताए । यस विषयमा आफ्नो तर्फबाट थप पहल गर्ने आश्वासन उनले दिए ।

    सांसदद्वय एलेक्जेन्ड्रा एनेष्ट्रिल, सोफिया ल्याभेन्गेजले नेपालको पर्यटन विकासका लागि स्वीडेन सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका क्षेत्रहरु पहिचान गरि आवश्यक पहल गर्ने बताए ।

    पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमका अनुसार स्वीडेनबाट सन् २०१९ मा करिब ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२३ को जनवरीदेखि जुलाईसम्म १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।