२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • टाइगर प्यालेस नयाँ व्यवस्थापनले लिएपछि बाउन्नकोटीमा क्षमापुजा

    तिलोत्तमा– रुपन्देहीको तिलोत्तमामा रहेको टाइगर प्यालेश रिसोर्ट नयाँ व्यवस्थापनले लिएपनि क्षमापूजा गरिएको छ। रिसोर्ट परिसरमा रहेको बाउन्नकोटी देवीको मन्दिरमा क्षमापूजा गरि नियमित पुजा सुरु गरिएको हो। मंगलबार विहान ९ बजे ७ जना ब्राम्हणबाट स्वस्तिबाचन गरि क्षमापूजा गरिएको रिसोर्टले जनाएको छ। क्षमापूजापछि एक जना ब्राम्हणले विहान र बेलुका नियमित पूजा गर्ने प्रबन्ध मिलाइएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए। अध्यक्ष सुवेदी आँफै कर्ता बसी क्षमा पुजा गरेका थिए।

    चैते दशैं र बडा दसैंमा देवीको पाठ लगाइ कालरात्रीको दिनमा सबैको लागि मन्दिर खुला गरिने रिसोर्टले जनाएको छ।क्षमापूजामा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, तिलोत्तमा १३ का वडाध्यक्ष नारायण ढकाल, रिसोर्ट सञ्चालकहरु दिपक गौतम र देव भुसाल, प्रमुख कार्यकारी अधिकृत दिपक लेखक सहित आमासमूह र स्थानियहरुको सहभागीता रहेको थियो। पूजामा आमा समूहबाट भजन किर्तन समेत गरिएको थियो। आफूहरुको आस्था र भावनासँग जोडिएको नियमित पुजा हुने भएपछि स्थानियहरु पनि खुशी भएका छन्।

    अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले चलाएको टाइगर प्यालेस रिसोर्ट लामो समय संकट थियो। केही समय अघि अमेरिकामा रहेका नेपालीहरुको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले टाइगर प्यालेस खरिद सञ्चालन गर्न थालेको हो।