२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • लुम्बिनी आएका पर्यटक मध्ये १० प्रतिसत पनि जाँदैनन् तिलौराकोट

    बुटवल-कपिलबस्तुको तिलौराकोट गौतमबुद्धले २९ वर्ष विताएको ठाउँ हो। जुन बुद्ध जन्मस्थल लुम्बिनीबाट २४ किलोमिटरको दुरीमा छ।गौतम बुद्ध रुपन्देहीको लुम्बिनीमा जन्मीएपछि उनको बाल्यकाल र युवा अवस्थाको केही समय तिलौराकोटमै वित्यो। तिलौराकोट गौतमबुद्धका पिता राज शुद्धोधनको राजदरबार भएको ठाउँ हो।

    बुद्धको जन्म भएको स्थान लुम्बिनी मुलुकको प्रमुख पर्यटकीय गन्तव्य हो। नेपालभित्रै र विभिन्न देशबाट समेत लुम्बिनीमा पर्यटक आउने गर्दछन्। तर बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटक मध्ये १० प्रतिसत पनि तिलौराकोट पुग्दैनन्।सन २०२२ को सुरुवातदेखि २०२३ को जुलाइसम्म स्वदेशी र विदेशी गरि कुल १२ लाख १० हजार ७० पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्। यही अवधिमा तिलौराकोट पुग्नेको संख्या १ लाख ४ हजार मात्र छ। यो तथ्यांकलाई आधार मान्दा लुम्बिनीमा आएको पर्यटक मध्ये साढे ८ प्रतिसत मात्र तिलौराकोट जाने गरेका देखिन्छ।

    देशका विभिन्न भागबाट आएका आन्तरिक पर्यटकहरु धेरै जसो लुम्बिनी मात्र भ्रमण गर्ने गर्दछन्। तिलौराकोटको बारेमा उनीहरु खासै ध्यान दिँदैनन्।भारतले कपिलबस्तु नेपालको भनेर स्वीकार गरेको छैन। उसले बुद्धको क्रिडास्थल आफ्नै भूमि भएको दाबी गर्दै आएको छ। जस कारण लुम्बिनी आएका भारतीयहरु तुलनात्मक रुपमा निकै कम नै तिलौराकोट पुग्ने गरेका छन्।
    तर राहदानी बाहक तेस्रो मुलुकका पर्यटक भने केही बढी लुम्बिनीसँगै तिलौराकोट जाने गरेको देखिएको छ। विशेष गरि थाइल्याण्ड, म्यानमार, श्रीलंकाबाट आएका पर्यटक तिलौराकोट पुग्ने गरेका छन्।

    कसरी आकर्षित गर्न सकिन्छ त तिलौराकोटमा पर्यटक

    कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने प्रक्रिया अगाडी बढाइएको छ। २०२४ मा हुने विश्व सम्पदा समितिको बैठकमा सुचिकृतको लागि पेश गर्ने तयारी गरिएको छ। कपिलवस्तुमा पर्यटक बढाउने मुख्य आधार विश्व सम्पदाको सूचीमा सुचिकृत नै भएको लुम्बिनी विकास कोषका तिलौराकोट प्रमुख माधव आचार्यले बताए। ‘विश्व सम्पदाको सूचीमा सुचिकृत हुनु नै कपिलबस्तुको लाग भाग्य र भविश्य हो। सुचीकृत भएमा मात्र यसले अन्तराष्ट्रिय सम्पदाको पहिचान पाउँछ।’ उनले भने ‘सूचिकृत गर्न सकिएन भने एउटा राष्ट्रिय सम्पदाको रुपमा त रहन्छ। अन्तराष्ट्रिय पर्यटक आकर्षित गर्न सक्दैनौं।’

    अहिलेको अवस्थामा भने पर्यटकहरुलाई आकिर्षत गर्न तिलौराकोटमा पर्यटकीय पूर्वाधार पनि आवश्यक छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने आचार्यको भनाइ छ। ‘अन्तराष्ट्रिय विमानस्थललाई भाइव्रेट गर्नुपर्यो। बौद्ध राष्ट्रहरु थाइल्याण्ड, भियतनाम, कम्बोडिया, लाओस, श्रीलंका, बर्मा देखी भैरहवासम्म सिधा उडान गर्न सक्ने हो भने तिलौराकोटमा पनि पर्यटकीय चहलपहल बढ्छ।’ उनले भने ‘त्यसबाहेक यातायातको सहजता, पर्यटकहरुको लागि आवास, वाइफाइ, सुरक्षा लगायतको व्यवस्था पनि राम्रो हुनुपर्छ।’

    नीजि क्षेत्रले पनि टुर प्याकेज बनाएर कपिलबस्तुका साइटहरुको प्रचारप्रसार गर्न सक्नुपर्ने कोषका तिलौराकोट प्रमुख आचार्यले बताए। आएका पर्यटक भुल्ने गरि धार्मिक गतिविधि पनि आवश्यक हुने उनको भनाइ छ।