२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • अगष्ट महिना: लुम्बिनीमा श्रीलंकन पर्यटकको सिजन

    लुम्बिनी -गर्मी र वर्षायाम लुम्बिनीको पर्यटनका लागि अफ सिजन हो। अप्रिलपछि लुम्बिनीमा पर्यटकहरुको चहलपहल कम हुन थाल्छ। नेपाल र भारत बाहेक तेस्रो मुलुकका पर्यटक त नगन्य हुन्छन्। तर अगष्ट महिनामा श्रीलंकाली पर्यटकहरुको आगमनसँगै चहलपहल हुन थाल्छ।

    गत अगष्ट महिनामा मात्र श्रीलंकाबाट २ हजार ४५४ पर्यटक लुम्बिनी आएका छन्। उक्त महिनामा चिनबाट ४ सय, भियतनामबाट १०५ पर्यटक आउँदा अरु तेस्रो मुलुकका पर्यटकको आगमन दर सय पनि नाघेको छैन। सन २०२० र ०२१ मा कोरोना संक्रमणका कारण श्रीलंकालीहरु लुम्बिनी आउन सकेका थिएनन्। २०२२ मा आर्थिक संकटका कारण पर्यटक आगमन दर निकै कम थियो। सो वर्ष अगष्ट महिनामा ६२ जना मात्र श्रीलंकन लुम्बिनीमा आएका थिए।

    श्रीलंकन पर्यटकहरु बढ्ने क्रम भएपनि अहिले कोरोनाकाल अघिको तुलनामा निकै कम छ। कोरोनाकाल अघि अगष्ट महिनामा लुम्बिनीमा श्रीलंकाका पर्यटकहरुको बाक्लो चहलपहल हुन्थ्यो। सन २०१९ को अगष्टमा १२ हजार ५१६ पर्यटक लुम्बिनी आएका थिए। २०१८ मा १६ हजार ८९२, २०१७ मा १० हजार ९७३ श्रीलंकन आएको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ।
    बुद्धजन्मस्थल लुम्बिनीमा नेपाल र भारतपछि सबै भन्दा बढि पर्यटक श्रीलंकाबाटै आउने गर्दछन्।

    भिक्षुहरु वर्षाबास बस्ने समय भएकाले पनि अगष्ट महिनामा श्रीलंकन पर्यटकको चहलहपहल बढ्ने गरेको लुम्बिनी विकास कोषका सुचना अधिृकत हरि राइले बताए। ‘केही भिक्षुहरु अहिले लुम्बिनीमा बर्षाबास बसेका छन्। बर्षाबासमा बसेकाहरुलाई भिक्षा दान गर्न यो समयमा श्रीलकाका पर्यटकहरु आउने गरेका छन्।’ उनले भने श्रीलंकामा गर्मी विदा भएकाले पनि लुम्बिनी घुम्न आउनेको संख्या बढ्ने गरेको छ। एक हिसाबले अहिले श्रीलंकन पर्यटकहरुकोे सिजन पनि हो।’

    सन २०२३ को सुरुवातदेखी अगष्टसम्म अर्थात ८ महिनाको अवधिमा श्रीलंकाबाट ८ हजार ४ सय ७४ पर्यटक लुम्बिनी आइसकेका छन्। यही वर्षको मार्च महिनामा मात्र ३ हजार ४०७ जना आएका थिए। अप्रिलदेखि जुलाइसम्म श्रीलंकनको आगमनदर ४०० भन्दा पनि कम थियो। २०२३ सुरु भए यता लुम्बिनीमा तेस्रो मुलुकका कुल पर्यटकको अगामन ४० हजार ५४२ रहेको छ। अगष्ट महिनामा मात्र ३ हजार ५४५ विदेशी पर्यटक लुम्बिनी आएका छन्।