२०८१ मंसिर ९ गते, आईतवार १४:४२
  • तिलौराकोट ओझेलमा पर्यो भनेर १७ वर्षको उमेरमा महाकाली-मेची साइकल यात्रा गरेका हौं (अन्तर्वार्ता)

    ‘तिलौराकोट भित्र हामीले केही गर्न पाउँदैनौं, बाहिर पर्यटकीय वातावरण बनाउँछौं’


    कपिलबस्तुको तिलौराकोट गौतम बुद्धले २९ वर्ष विताएको ठाउँ हो। यहाँ उनका पिता राजा शुद्धोधनको दरवार रहेको थियो। तिलौराकोटमा अहिले पनि थुप्रै पुरातात्वीक बस्तुहरु देख्न सकिन्छ। तर बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटक मध्ये निकै कम मात्र तिलौराकोट पुग्ने गरेका छन्। भारतले आफ्नो भूमिमा नक्कली कपिलबस्तु बनाएको छ। त्यो भ्रमलाई चिर्न र तिलौराकोटको प्रर्वद्र्धनको लागि सुदीप पौडेलसहितको टोलीले २०५३ सालमा महाकाली मेची साइकिलयात्रा गरेको थियो। पौडेल अहिले कपिलबस्तु नगरपालिकाको मेयर छन्। २७ वर्ष अघिको त्यो साइकिलयात्रा, कपिलबस्तुको पर्यटकीय विकास लगायतका बारेमा हामीले मेयर सुदीप पौडेलसँग कुराकानी गरेका छौं।

    बुद्धले २९ वर्ष विताएको तिलौराकोट यहाँकै नगरपालिकामा पर्दछ। लुम्बिनीको तुलनामा निकै कम पर्यटक यहाँ आउने गरेको देखिन्छ, किन होला ?
    अझै पनि तिलौराकोट विश्वसम्पदा सूचीमा सूचिकृत हुन सकेको छैन। विश्व सम्पदामा नपरेका कारण नेपालमा आएका विदेशी पर्यटकहरुले आफ्नो नक्सामा हेर्दा तिलौराकोटलाई देख्दैनन्। अर्कोतर्फ छिमेकी राष्ट्र भारतले नजिकै नक्कली कपिलबस्तु बनाएको छ। अलिगढवामा कपिलबस्तु हो भनेर पर्यटकहरुर्लाइ गाइड गर्ने गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि लुम्बिनीमा आएर भाषण गर्नुभयो। बुद्ध लुम्बिनीमा जन्मेको भन्दा हामीले ताली बजायौं। त्यसमा दुई मत भएन।
    तर कपिलबस्तुलाई भारतले स्विकार्न नसक्नु नै हाम्रो दुर्भाग्या हो। सरकारमा पुगेका र विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व नेताहरुले पनि यहाँको पर्यटकीय विकासको लागि पहल गर्न सक्नुभएको छैन।

    लुम्बिनी आएका पर्यटक मध्ये १० प्रतिसत पनि जाँदैनन् तिलौराकोट

    तिलौराकोटको प्रचार र प्रवद्र्धनको लागि यहाँले आफ्नो तर्फबाट के के गर्नुभएको छ ?
    म त सानैदेखी तिलौराकोटको लागि अभियान चलाएको हो। २०५३ सालमा १७ वर्षको थिएँ। त्यसबेला तिलौराकोट नै कपिलबस्तु हो, यो ओझेलमा पर्यो, राज्यले ध्यान दिनुपर्यो भनेर हामी ४ जनाले महाकाली मेचि साइकिल यात्रा गरेका थियौं।
    २५ दिनको साइकिल यात्रामा हामी देशका विभिन्न गाविस र नगरपालिकामा पुगेर कपिलवस्तु र तिलौराकोटको पक्षमा प्रचारप्रसार गयौं। त्यहाँ पर्चा पम्प्लेटहरु बाँडेका थियौं। महाकाली नदिबाट सुरु गरेर मेचि पुलमा पुगेर हाम्रो यात्रा सकिएको थियो।

    त्यतीबेला अहिले जस्तो सञ्चारको यती धेरै सुविधा थिएन। जति थिए सबै मिडियाले हाम्रो अभियानलाई राम्रो स्थान दिएका थिए।
    गृह मन्त्रालयले हामीलाई यीनीहरुले यसरी भारतको विरोध गरिरहेका छन्। केही खतरा नहोस् भनेर विभिन्न प्रहरी चौकीहरुलाई पत्र लेखेर दिएको थियो। जहाँ जाँदा पनि प्रहरीले हामीलाई सुरक्षा दिन खोजेका थिए, एक ठाउँबाट अर्को ठाउँको प्रहरी चौकीमा आउँदैछन् भनेर सेटमा जानकारी दिने गरेका थिए। जंगलमा हामीलाई सुरक्षा दिने गरिएको थियो।

    गौतम बुद्धको घर भएको हिसावले तिलौराकोटको पर्यटकीय विकास हुनुपर्छ भन्ने हाम्रो माग थियो। जस्तै मेरो छोराछोरी बुटवलको अस्पतालमा जन्मिए भन्दैमा उनीहरु बुटवलको बासीन्दा हुँदैनन्, जन्मदर्तामा बुटवल लेखिन्न, बाहिर जहाँ जन्मेपनि कपिलबस्तु नगरपालिका १ भनेरै ठेगाना लेखिन्छ। तिलौराकोट पनि बुद्धको लागि त्यस्तै महत्वपूर्ण ठाउँ हो ओझेलमा पार्न हुन्न भन्ने हाम्रो भनाइ थियोे।

    त्यसबेला साइकिल यात्रा गर्नुपर्छ भन्ने विचार कहाँबाट आयो ?
    एक जना नारायण पौडेल हुनुहुन्छ, पहिले पत्रकारीता गर्नुभएको अहिले पनि लेखहरु लेख्नुहुन्छ। उहाँको कपिलबस्तु लुम्बिनी बचाउ भन्ने संस्था थियो। त्यो संस्थाले हामीलाई हौसला दिएर सुरुवात गरायो। तत्कालिन जिल्ला विकास समितिका सभापति गुरुप्रसाद रजौरियाबाट हामीलाई आर्थिक सहयोग मिल्यो। त्यसबेलाका सांसद मिर्जादिल साहवेगले २ वटा साइकिल किनेर दिनुभएको थियो। हामी विद्यार्थी जिवनमा भएको बेला त्यो यात्रा गरेका थियौं।

    कपिलबस्तु अनि तिलौराकोटको पर्यटकीय विकासको लागि जनप्रतिनिधि भएपछि कस्तो भूमिका निर्वाह गर्नुभएको छ?
    हुलाकी सडक आयोजनाबाट यहाँ ६ लेनको सडक विस्तार हुँदै छ। बुटवल–भैरहवाको सडकमा जस्तै हामीले पनि सडकको विच भागमा विभिन्न मूर्तिहरु राख्दैछौं। जहाँबाट तौलिहवाको बजार क्षेत्र सुरु हुन्छ। त्यहाँबाट राजा सुद्धोधन, मायादेवी, यसोधरा, राहुलका मुर्तिहरु हामीले सडकको विच भागमा राख्नेछौं। गौतमबुद्धका विभिन्न आसनका मुर्तिहरु पनि राख्छौं। कपिलबस्तुमा ३ वटा बुद्ध जन्मेको कथा छ। क्रकुछन्द र कनकमुनि बुद्धको मुर्ति रहन्छ। जसका कारण लुम्बिनी आउनेहरुले गौतमबुद्धको बुबा आमा छोरा श्रीमतीको आकृति देख्छन् र आफू गौतम बुद्धको घर आएछु भन्ने महसुस गर्छन्। यही वर्ष नगरपालिकाले त्यो अभियान सुरु गरेको छ।

    बुद्ध परिपथमा कहिले गुड्लान् विद्युतीय सवारी ?

    लुम्बिनीमा लामो समयदेखी विद्युतीय बस पनि अलपत्र परको अवस्था छ। ति बस सञ्चालन हुँदा तिलौराकोटमा केही मात्रामा भएपनि पर्यटक बढ्न सक्थ्यो कि?
    यस विषयमा लुम्बिनी विकास कोषका अघिल्ला उपाध्यक्षसँग हामीले कुराकानी गरेका थियौं। आधा वा एक घण्टाको अन्तरमा विद्युतिय बस चलाउनु सुरुवात गरौं, बरु नगरपालिकाका तर्फबाट हामीले दुई चार वटा गाइड राख्छौं भनेर प्रस्ताव गरेका थियौं। हाम्रो पालिका स्तरबाट लुम्बिनीमा गाइड राख्ने र उनीहरुले पर्यटकहरुलाई कपिलबस्तु ल्याउने गरि हामीले कुरा राखेका थियौं। अहिले नयाँ उपाध्यक्ष आउनुभएको छ। यस विषयमा उहाँसँग बसेर फेरी यो कुरा राख्छौ। तिलौराकोट परिसर भित्रको जग्गामा हामीलाई लुम्बिनी विकास कोष र पुरातत्व विभागले केही गर्न दिँदैन। बाहिर हामीले पर्यटकीय वातावरण चाँही बनाउँछौं।

    कपिलबस्तुमा तिलौराकोट बाहेक अन्य बुद्धस्थल र पर्यटकीय स्थल पनि तिनीहरुको प्रचार र प्रवद्र्धनको लागि कपिलवस्तु नगरपालिकाले के गर्दै छ?
    बुद्धसँग सम्बन्धित अरौराकोट, कुदान, निग्लीहवा, गोटिहवा, सिर्सियाकोट छ। त्यो बाहेक हामीसँग मानवनिर्मति ठूलो जगदिसपुर ताल छ। त्यहाँ थुप्रै प्रजातिका चराहरु देख्न सकिन्छ। रमणीय तालमा डुंगा सयर गर्न पाइन्छ। धार्मीक आस्था राख्नेहरुको लागि तौलेश्वर महादेवको मन्दिर छ यहाँ एशियाकै ठूलो शिवलिंगको रुपमा रहेको छ। यी ठाउँको प्रचार र प्रवद्र्धनको लागि पनि हामीले अझै काम गर्नुपर्ने छ।

    कपिलबस्तुमा पर्यटकीय सुविधाको लागि राम्रो आवास सुविधाहरु प्नि छैन। यसको लागि नीजि क्षेत्रको भूमिका के हुन्छ?
    हामी होटल व्यवसायीसँग २–४ चरण बसिसक्यौं। यहाँ लगानी गर्न उहाँहरुले पनि रुचि देखाउनुभएको छ। विशेष गरेर हामीले लुम्बिनीका होटल व्यवसायीहरुलाई बढि प्रमोट गरेका छौं। यहाँ उहाँहरुको लगानी भयो भने लुम्बिनी आएका पर्यटकहरुलाई कपिलबस्तु ल्याउन पनि अहम भूमिका खेल्नुहुन्छ। त्यसैले लुम्बिनी होटल व्यवसायी संघका पदाधिकारी र अरु होटल व्यवसायीसँग छलफल गरेका हौं। अघिल्ला वर्ष कोभिडको समस्या, अहिलेको आर्थिक संकटका कारण झट्टै ठूलो लगानी त नआउला। तर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चलायमान भयो भने लगानीकर्ताहरु कपिलबस्तुमा आउन आतुर हुनुहुन्छ।