२०८१ आश्विन २१ गते, सोमबार १३:११
  • देवदहका पुरातात्विक स्थलमा बृक्षारोपण

    देवदह -बुद्धको मावली देवदहका विभिन्न पुरातात्विक क्षेत्रहरुमा बृक्षारोपण गरिएको छ। लुम्बिनी विकास कोषले सोमबार बैरीमाई, कन्यामाई, भवानीपुर र देवदह सम्पर्क कार्यालय परिसरमा बृक्षारापण गरेको हो। सो अवसरमा आँप, बेल, बेलौती, अशोक, कागती, तेजपत्ता, निम, कपुर, फूल लगायतका विभिन्न प्रजातीका एक सय बढि विरुवा रोपिएको थियो।

    कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) र सदस्य सचिव सानुराजा शाक्यले बृक्षारोपण गरी शुरुवात गरेका थिए। कोलिय वंशको राजधानी देवदहमा बुद्धका माता मायादेवी तथा प्रजापती र राजकुमारी याशोधराको माईतीका रुपमा चिनिन्छ। बुद्धको मावली क्षेत्र र यहाँका बौद्धकालिन पुरातात्विक स्थलहरुको हरियाली प्रवद्र्धनका लागि बृक्षारोपण गरिएको कोषले जनाएको छ।

    पुरातात्विक क्षेत्रको सौन्दर्यकरण बढाउनका लागि बृक्षारोपण गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए। उनले देवदह बुद्धको मावली क्षेत्र भएकाले यसको ऐतिहासिक महत्व रहेको बताउँदै यहाँ रहेका पुरातात्विक स्थलहरुको विकासर पर्यटक आर्कषित गर्नका लागि निरन्तर कोषले बृक्षारोपण जस्ता सौन्दर्यकरण र अन्य विकासका काम गर्दै जाने बताए।

    कोषका सदस्य सचिव सानुराजा शाक्यले कोषले देवदह क्षेत्रका पुरातात्विक स्थलहरुको उत्खनन र संरक्षण गर्नुपर्ने बताउँदै यसका लागि कोषले पुरातात्व विभाग लगायतका निकायहरुसँग समन्वय गर्ने काम गरिरहेको बताए। कोषको वनस्पती शाखाको समन्वय, देवदह कार्यालयको संयोजनमा बृक्षारोपण कार्यक्रम भएको हो।

    बृक्षारोपण कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा न. ७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, पुरातात्व महाशाखाका प्रमुख हिमाल कुमार उप्रेती, वनस्पती शाखा प्रमुख कमलेश्वर बर्मा, प्रशासन शाखाका नवराज अधिकारी, इञ्जिनियरिङ शाखाका किसन विक, देवदह कार्यालयका प्रमुख दामोदर भण्डारी लगायतको उपस्थिती रहेको थियो ।