२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • भैरहवा-दिल्ली उडानको पहिलो यात्रु बने देवमणी


    भैरहवा नेपाल एयरलाइन्सले सुरु गरेको भैरहवा -दिल्ली उडानको पहिलो यात्रु देवमणी घिमिरे भएका छन्। घिमिरे मंगलबार भैरहवाबाट काठमाडौँ ट्रान्जिट भएर दिल्ली गएका हुन्। नेपाल एयरलाइन्सले अघिल्लो हप्ता काठमाडौं ट्रान्जिट हुने गरि भैरहवा -दिल्ली र भैरहवा-हङकङको लागि टिकट बुकिङ खुल्ला गरेको थियो।

    जस अनुसार घिमिरेले दिल्लीको लागि टिकट बुकिङ गरि यात्रा गरेका हुन्। उनलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सका भैरहवा प्रमुख माधव लोहनी लगायतले विदाइ गरेका थिए। काठमाडौँ ट्रान्जिटमा बस्दा घिमिरेलाई लञ्च प्याकको सुविधा पनि प्रदान गरेको लोहोनीले बताए।

    हरेक मंगलबार विहान नेपाल एयरलाइन्सको जहाज मलेसीयाको क्वालालाम्पुरबाट भैरहवा आएर काठमाडौँ जाने गर्दछ। सो जहाजमा भैरहवाबाट दिल्ली र हङकङ जाने यात्रु चढाइने छ।

    नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले आगामी दिनमा भैरहवाबाट उडान बढाउँदै लैजाने बताए। ‘अहिले हप्ताको एउटा उडान मात्र हुँदा सुरुवातमा कुन बार हो भन्ने याद कम भएको छ। भविश्यमा भैरहवा दिल्ली सिधा उडान गर्ने लक्ष्य छ।’ उनले भने ‘त्यो नहुँदा सम्म यात्रु बढ्दै गएमा अहिले जस्तै काठमाडौँ टान्जिट भएर दैनिक उडान गर्ने प्रयास हुन्छ।’ लोहोनीले भविश्यमा भैरहवा बैङलोर पनि उडान गर्ने तयारी रहेको सुनाए।